Aamsanchar

निजगढ विमानस्थल शिलान्यास मंसिरमा हुने घोषणा अन्योल हुदैन : मन्त्री भट्टराई

Author Image
शनिवार, कार्तिक ३०, २०७६

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्राथमिकतामा रहेको आयोजना हो, दोस्रो अन्तर्राष्ट्रिय (निजगढ) विमानस्थल । १५ साउन ०७६ मा मन्त्री नियुक्त भएलगत्तै उनले घोषणा गरेका थिए, ‘निजगढ विमानस्थल मंसिरभित्रै शिलान्यास हुन्छ ।’

मन्त्रालय सम्हालेको एक साताभित्रै नेपाल एयरलाइन्स, अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पत्रकारहरुसँगको अन्तरक्रियामा उनले उही बाचा दोहोर्‍याएका थिए, ‘निजगढ विमानस्थल मंसिरमा शिलान्यास हुन्छ ।’

विमानस्थल निर्माणको चर्चा सुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा विमानस्थल निर्माण गर्ने तदारुकता देखाउँदै आएका छन् ।

आइतबार स्थलगत अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईको सचिवालयका अनुसार आइतबार मन्त्रीसहितको टोली निर्माणस्थलमा स्थलगत अनुगमनका लागि पुग्दैछ । टोलीले स्थलगत अनुगमन सकेर स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तक्र्रिया–छलफल गर्नेछ ।

‘शिलान्यासको तयारी र वस्तुस्थिति हेर्न मन्त्रीज्यू आइतबार साइटमा पुग्दै हुनुहुन्छ, त्यसपछि थप अपडेट आउनेछ,’ मन्त्रीको सचिवालयका एक सदस्यले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारीले समेत स्थलगत अनुगमनपछि शिलान्यासबारे निर्णय हुने बताए । ‘अब हामी स्थलगत रुपमा हेर्छौं, त्यसपछि निष्कर्षमा पुग्नेछौं,’ उनले भने ।

मन्त्री भट्टराईले शिलान्यासलाई प्राथमिकता दिन थालेपछि ‘के शिलान्यासमात्रै सबैथोक हो त रु’ भन्दै आलोचना शुरु भएको थियो । किनकी यो आयोजनामा व्यवस्थापकीय समस्याका चाङ छन् । मन्त्रालयका उच्च अधिकारीहरु पनि रणनीतिक महत्वका आयोजनामा आन्तरिक तयारीका काम सकेर मात्र मन्त्रीहरुले बाहिर बोल्दा आफूहरुलाई काम गर्न सजिलो हुने बताउँछन् ।

मन्त्री भट्टराईले पद सम्हालेपछि यस आयोजनामा देखिने गरी भएको प्रगति लगानी बोर्डले आयोजना बनाउन इच्छुक कम्पनीको सर्ट लिस्टिङ गर्नु हो । लगानी बोर्डले स्वीट्जरल्याण्डको ज्यूरिच इन्टरनेशनल एयरपोर्टको प्रस्तावलाई छनोट गर्दै विस्तुत प्रतिवेदन माग गरेको छ । यो कम्पनीले प्रस्ताव पठाएमा सार्वजनिक–निजी–साझेदारी ९पीपीपी० मोडलमा आयोजना निर्माण अगाडी बढाउने तयारी सरकारको छ । तर, त्यसअगाडी यो आयोजनामा सबैभन्दा पेचिलो विषय रुख कटान र त्यसको विवाद सल्टाउनु हो । विवाद सल्टिएपछि पनि रुख कटान गरी आयोजनाको साइट क्लियर गर्न नेपाली सेनाले तयारी गर्नुपर्छ ।

निजगढ विमानस्थल निर्माणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईको हुटहुटी जति आशलाग्दो छ, त्यति नै निरासाजनक प्रगति यस आयोजनाको छ । हरेकपटक मन्त्री हुनासाथ हरेक मन्त्रीले दोहोर्‍याउँदै आएको प्रतिवद्धता यस पटक मन्त्री भट्टराईले दोहोर्‍याएका हुन् । मात्र यसमा नयाँ विषय उनले सन् २०१९ भित्रै शिलान्यासको घोषणा गरेका छन् । तर, शिलान्यास आफैमा नौलो विषय पनि होइन । विमानस्थलको चार किल्ला तोकिएको छ । क्षेत्र निर्धारण भएको एक कुनामा दुईटा इटा राख्नासाथ यसको शिलान्यास भइहाल्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर