

काठमाडौं । कालापानी क्षेत्रका बासिन्दाले १९९५ मै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको तथ्य पनि कान्तिपुरले आज उजागर गरेको छ । समाचार अनुसार तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।

खोजीका क्रममा ८१ वर्ष पुरानो ललगत आधारको तिरो रसित प्राप्त भएको र भूमिसुधार मन्त्रालयले केही वर्षअघि अभिलेखालयलाई बुझाएको समाचारमा उल्लेख छ ।

राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगले कान्तिपुरसँग बताएअनुसार, १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पसाको तिरो बुझाएको प्रमाण भेटिएको जनाएको छ । त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित गुञ्जी (कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको सूची देखिन्छ । तिरो प्रमाणमा हाल भारततर्फ पारिएका नावी र कुटी गाउँका बासिन्दाको नामसमेत उल्लेखख छ । तिरोस्वरुप केही बासिन्दाले मानापानी अन्न र केहीले पसा बुझाएको प्रमाण देखिन्छ ।


