१३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।
उद्घाटनसत्रमा सहभागी सातवटै देशले मार्चपास गर्नेछन् । नेपालसहित सहभागी सबै राष्ट्रले आफ्दो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबारै सम्पन्न भइसकेको छ ।
उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजारभन्दा बढी उपस्थित हुने समारोह आयोजक समितिले जनाएको छ । उद्घाटन समारोहमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने छन् ।
नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।
१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सागका लागि करिब २ हजार अफिसियल समेत खटिनेछन् ।
सागको उद्घाटनमा मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेछन् ।
१३ औं सागअन्तर्गत काठमाडौं, पोखरा र जनकपुरमा खेलहरू हुनेछन् । ८ खेल पोखरा र १ खेल जनकपुर र बाँकी खेल काठमाडौंमा हुनेछ । भलिबलका खेलहरु जारी छ भने आज देखि खोखो र ब्याडमिन्टनका प्रतिस्पर्धासमेत सुरु हुनेछ । तेक्वान्दोको उद्घाटन आजै भए पनि खेलहरु भने भोलिबाट हुनेछन् ।