इटहरी । बैङ्किङ कारोबारको अनुमति नलिई सुन पसलमार्फत् पासबुक बनाई रकम सङ्कल गरेको आरोपमा इटहरी कान्तिपुर गहना भण्डारका सञ्चालक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीले भण्डारका सञ्चालक सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठलाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैङ्कको बैङ्किङ कारोबारको अनुमति नलिएको पाइएपछि पक्राउ गरिएको इप्रका इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिए । उनीहरूले विभिन्न बचतकर्ताहरूबाट २० लाख रुपैयाँ उठाएको पासबुकमा फेला परेको छ । बढी ब्याज दिने बाहानामा सुनसरी र मोरङका ६ जनाबाट २० लाख ४६ हजार रुपैयाँ नगद सङ्कलन गरेको भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । बचतकर्ताको तीन वर्षको ब्याजसहित रकम फिर्ता नगरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीका अनुसार इटहरी–८ की मधुमाया कटुवालको ४ लाख ४६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, वराहक्षेत्र–२ का रञ्जिता कटुवालको ७० हजार, इटहरी–५ का तारा आचार्यको १ लाख, इटहरी–८ का कमला श्रेष्ठको २ लाख, मोरङ सुन्दरहरैंचा–५ का लालचन्द बस्नेतको ५ लाख २९ हजार रुपैयाँ फिर्ता नगरेको जाहेरी परेको थियो । जाहेरीपश्चात् उनीहरूको पसलबाट पासबुकसमेत बरामद गरिएको छ । उनीहरूलाई बैङ्किङ कसूर अन्तर्गत ठगी मुद्दामा कारबाही अगाडि बढ्ने बताइएको छ ।