Aamsanchar

अमेरिकी सरकारले दियो नेपाली सेनालाई दुुई वटा विमान

Author Image
बुधवार, पौष २, २०७६


नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरेका हुन् ।

छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूर्ण योगदान पुुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुरक्षा अनुदान हो ।

दुुई हजार ३ सय केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् ।

तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुई विमानको मूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।

विमानका लागि आवश्यक अतिरिक्त पाटपुुर्जा, विमान चालक तथा मर्मतसम्भार तालीम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरणलगायतको सहयोग पनि अनुदानमा समावेश रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ । यी दुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकप्टर भएका छन् ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएको तालीम र यस प्रकारका सहायताले दुुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूत बेरीले नेपालको आवश्यकताअनुुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुर्‍याउने हेतुले उपलब्ध गराइएको विमान दुई देशबीच सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरे ।

नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोशेढुङ्गा सावित भएको बताए । अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप एक विमान उपलब्ध गराउने छ । अमेरिकी दूतावासले भनेको छ– यस्ता पहलहरुबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर