Aamsanchar

विदेशी सवारी साधन प्रवेश गर्दा करमा मनलागी असुली

Author Image
बिहिवार, पौष ३, २०७६


विराटनगर । मोरङको कटहरी गाउँपालिकामा विदेशी सवारी साधन प्रवेश गर्दा लिइने दैनिक सरसफाइ करमा ठेकेदारले मनलाग्दी असुली गर्ने गरेको पाइएको छ ।

गाउँपालिकाबाट वार्षिक २१ लाख रुपैयाँमा ठेक्का लिएका शिवकुमार कामतको समूहले विदेशी सवारी साधनलाई सरसफाइ शुल्क बापत करको नाममा मनलाग्दी रकम असुली गर्ने गरेको प्रमाण फेला परेको हो । कटहरी गाउँपालिका प्रवेश गर्ने विदेश नम्बर प्लेट भएका सवारी साधनलाई सरसफाइ शुल्क १ सय ५० देखि बढीमा २ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर यहाँ ठेक्का लिएका कामतको समूहले सवारी साधन हेरेर ३ सयदेखि ५ सय रुपैयाँसम्म विदेशी सवारी साधनको सरसफाइ शुल्क लिने गरेको नगद रसिद फेला परेको हो ।

उद्योग, कलकारखानाहरू धेरै रहेको कटहरी गाउँपालिकामा दैनिक कच्चापदार्थ बोकेर भारतीय नम्बर प्लेटका सवारी साधन करिब १ सयवटा प्रवेश गर्ने गरेको अभिलेखमा देखिन्छ । सवारी साधन र मान्छे हेरेर ठेकेदारका प्रतिनिधिले मनपरी शुल्क असुली गर्ने गरेको स्थानीय बताउँछन् । बढी शुल्क असुली गर्ने ठेकेदारका प्रतिनिधिहरूले सवारीको नम्बर र नाम पनि नलेख्ने गरेको पाइएको छ । शुल्क असुली गर्ने ठेकेदारका प्रतिनिधिसँग परिचय–पत्र पनि हुँदैन । सवारी चालकहरूले परिचय–पत्र देखाउन अनुरोध गर्दा उनीहरूले उल्टै हप्काउने गरेका छन् ।

कटहरी गाउँपालिकाका प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले आर्थिक वर्षदेखि विदेशी गाडीको हकमा मात्र सरसफाइ शुल्क लिने गरेको बताए । विदेशी गाडीले फोहोर बढाउने भएकोले गाउँपालिकाले सरसफाइ शुल्क लिने गरेको उनले सुनाए । ‘गाउँपालिकाले विदेशी नम्बर प्लेटको सवारीको लागि मात्र सरसफाइ शुल्क लिने गरेको हो’ उनले भने, ‘त्यो पनि गाउँपालिकाको बोर्ड बैठकले बढीमा २ सय रुपैयाँ मात्र शुल्क लिने निर्धारण गरेको हो ।’ गाउँपालिकाले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको पाइए आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

यसअघि गाउँपालिकाले पटके कर भनेर लिने गरेको थियो । त्यही पटके करलाई अहिले गाउँपालिकाले सवारी सरसफाइ शुल्क भनेर ठेक्का लगाएको हो । कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतले मापदण्ड र तोकिएको भन्दा बढी सरसफाइ कर लिएको पाइए ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘हामीले मापदण्ड तोकेर कर निर्धारण गरी ठेक्का लगाएका हौं’ उनले भने, ‘तोकिएको दरभन्दा बढी लिएको रसिद लिएर कार्यालय आए कारबाहीको दायरामा ल्याउनेछौं ।’

यता विदेशी सवारी साधनको सरसफाइ शुल्कको ठेक्का लिएका ठेकेदार समूहका प्रतिनिधि सञ्जय मण्डलले ‘काम गर्ने केटाहरूबाट गल्ती भएको’ भन्दै स्वीकार गरेका छन् । ‘म नभएको बेला काम गर्नेहरूले बढी शुल्क लिएको मैले पनि जानकारी पाएको छु’ उनले भने, ‘आउने दिनमा यस्तो गल्ती दोहरिने छैन ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर