Aamsanchar

तडकभडक त्यागेर  ‘तीज बचत’

Author Image
आइतवार, भदौ १९, २०७३

रत्ननगर (चितवन) ।

तडकभडक त्यागेर तीजमा हुने खर्च जोगाउन भरतपुरका महिलाले ‘तीज बचत’ सुरु गरेका छन् ।

गरगहना र लवाइखुवाइले भड्किलो बन्दै आएको तीजमा समानता दर्शाउन प्रभात महिला बचत तथा ऋण सहकारी संस्था मार्फत स्थानीय महिलाले यस्तो नमुना काम थालेका हुन् ।

“पहिले हामीले नै अलि भड्किलो तीज मनायौँ, गरगहना, महँगो साडीमा सजिएर पार्टी प्यालेसमा गरिने कार्यक्रममा झण्डै एक डेढ लाख सकिन्थ्यो”–सरस्वती कतिलाले भन्नुभयो– “अहिले हामीले नहुने र हुने वर्गमा समान हुनेगरी तीज मनाएका छौँँ ।”

हामीहरुका लागि अहिले तीज फेरिएको छ । महिलाले तीजमा हुने सबै खर्च जोगाएर आफ्नो गर्जाे टार्न थालेको उहाँले बताउनुभयो ।

यसपालीको तीज बचत कार्यक्रममा एकै दिन रु १ लाखसम्म बचत भएको र यो बर्ष आज तीजको दिनसम्मको बचतमा रु तीन लाख जम्मा भएको सदस्य महेश्वरी थापाले जानकारी दिनुभयो ।

भरतपुर ११ भोजाडकी दुर्गा लामिछानेले तीजमा हुने अनावश्यक खर्च रोकेर यो बर्ष रु ९ हजार बचत गर्नुभयो । ‘‘नचाहिने खर्च किन गर्ने, थोरै पैसाले भोलि ठूलो काम गर्न सकिन्छ,। ’’ लामिछानेले खुसी हुँदै भन्नुभयो–‘‘अन्य दिदिबहिनीलाई पनि तीजमा हुने खर्च जोगाउन म भन्छु ।’’

उहाँसँगै डा शारदा कुँवर र अम्विका सापकोटाले पनि रु पाँच–पाँच हजार बचत गर्नुभयो । यसरी सबैको स्तर बराबरी बनाउँदा नहुने बर्गले समेत रमाएर तीज मनाउने गरेको अनुभब प्रभात बचतकी शिक्षा उपसमितिकी सदस्य विनिता भट्टराई, अधिकारीसँग छ । रु १०० देखि ५० हजारसम्म महिलाबाट तीज बचत भएको छ ।
बचत कार्यक्रममा महिलाले रु २३ लाख बढी संकलन गरिसकेका छन् । तीजको अबसरमा गर्जाे टार्नका लागि मात्रै यो रकम निकाल्न पाईने व्यवस्था रहेको प्रभाव बचतकी अध्यक्ष ईश्वरी शर्माले बताउनुभयो ।

दुखसुख बेदनाका गीतसंगै बचत, संरक्षण तथा सहकारीका गीत गाउने गरेर संस्कृति अनुसार तीज मनाउन थालिएको सल्लाहकार शान्ति अधिकारीले जानकारी दिनुभयो ।

विगतमा त्यसै खेर जाने पैसा सबै बचत भएकोमा सदस्यहरु खुसी छन् । महिलाले मात्रै सञ्चालन गरेको देशका हजारौं सहकारीमध्ये यो सहकारीले नयाँ चेलीलाई शेयर उपहार दिने नयाँ कार्यक्रम समेत चलाउने भएको छ ।

यस्तै बालबचत, बृद्धबृद्धा बचत, युवा बचत कार्यक्रम समेत छ । जिल्लामै महिलाले सञ्चालन गरेको नमूना सहकारी प्रभातको रु १२ करोड माथिको कारोबार रहेको सचिव सरस्वती कतिलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर