Aamsanchar

‘नो पार्किङ’मा राखेका सवारीलाई कारबाही

Author Image
सोमवार, पौष ७, २०७६


विराटनगर । अटेरी गरी सवारी साधन ‘नो पार्किङ’ गरिएको सडक क्षेत्रमा राख्दै हुनुहुन्छ । अब होशियार रहनु होला । विराटनगर महानगरपालिकाभित्रका विभिन्न क्षेत्रको सडकमा मोरङ ट्राफिकले पार्किङ निषेध गरेको छ । निषेध गरिएको क्षेत्रमा सवारी राखे ट्राफिक प्रहरीले आवश्यक कारबाही गरेर मात्र छोड्ने गरेको छ ।

प्रदेश १ को राधजानी शहर विराटनगरका ‘नो पार्किङ’ क्षेत्रका सडकमा राखिएका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउन शुरु गरेको हो ।

मोरङ ट्राफिक प्रमुख भएर आएपछि इन्स्पेक्टर राकेशकुमार पोद्दारले विराटनगरका विभिन्न स्थानमा ‘नो पार्किङ’ क्षेत्र घोषणा गरेका थिए । प्रदेश १ को राजधानी विराटनगर घोषित भएसँगै यहाँ सडक जाम हुन थालेको छ । सवारी आवागमनमा सहज पु¥याउन उनले विराटनगरको मेनरोड, अस्पताल क्षेत्रका सडक र विराटनर–धरान सडक क्षेत्रअन्तर्गत महेन्द्र चौकदेखि भाटभटेनीसम्म एकतर्फी लाइनमा नो पार्किङ क्षेत्र बनाएका छन् ।

नो पार्किङ क्षेत्रमा सवारी साधन नराख्न माइकिङ र ‘नो पार्किङ’ को बोर्ड राख्दा पनि अटेर गरी राखिएका सवारी साधनलाई कारबाहीको दायरमा ल्याउन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर पोद्दारले जानकारी दिए । ‘एक पटक राख्ने सवारीधनीलाई हामीले सचेत गराउने गरेका छौं’ उनले भने, ‘नो पार्किङ भनिएको बोर्ड राख्दा पनि अटेर गरी सवारी राखिए कारबाहीको दायरामा ल्याउन थालेका हौं ।’

महानगरभित्रको पार्किङ व्यवस्थापन गर्न अभियानको रूपमा यस्तो कार्यको शुरुवात गरिएको उनले बताए । ‘पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्क गरिएका सवारी साधनहरू उठाएर महानगरपालिकाको गाडीमा हाल्ने गरिएको छ’ उने भने, ‘नो पार्किङ क्षेत्रमा दिनभरि छोडिएको सवारीलाई ट्राफिक प्रहरी र नगर रक्षक भएर त्यस्ता सवारीलाई महानगरको गाडीमा हाल्ने गरिन्छ । कारबाहीको लागि ट्राफिक चौकस्थित मोरङ ट्राफिकको कार्यालयमा ल्याउँछौं ।’

नो पार्किङ क्षेत्रमा राखिएका सवारीलाई दुईखाले कारबाही गरिँदै आएको छ । पार्किङ निषेध क्षेत्रमा राखिएको सवारीलाई ‘ह्विल लक’ पनि गर्ने गरिएको इन्स्पेक्टर पोद्दारले बताए । ह्विल लक गरिएको सवारीलाई १ हजार र गाडीमा हालेर ल्याएको सवारीलाई १ हजार ५ सय रुपैयाँ कारबाहीस्वरूप ट्राफिक प्रहरीले लिने गरेको छ ।

मङ्सिर महिनामा मात्र मोरङ ट्राफिकले नो पार्किङमा राखिएका १ सय ५३ वटा सवारी साधनलाई ह्विल लक गरेर कारबाहीको दायरामा ल्याएको मोरङ ट्राफिकले जनाएको छ । नो पार्किङमा राखिएका सवारी साधनबाट मङ्सिर महिनामा मात्र १ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पार्किङ निषेध गरिएको सडक क्षेत्रमा दिनभरि छोडिएका सवारीलाई ट्राफिक प्रहरीले महानगरको गाडीमा हालेर प्रहरी कार्यालयमा आवश्यक कारबाहीको लागि ल्याउने गरेको छ ।

एक सातामा नो पार्किङमा राखिएका दुई दर्जन सवारीलाई गाडीमा हालेर कारबाहीमा ल्याएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । ‘सडक क्षेत्रमा गरिने जथाभावी पार्किङको अन्त्य गरी ट्राफिक व्यवस्थापनमा सहज पु¥याउन अभियान शुरु गरिएको हो’ उनले भने, ‘यो अभियान अब प्रभावकारी रूपमा कार्यान्वयनमा जानेछ । जसले गर्दा अहिले भएको सडक जामको अन्त्य हुनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर