धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–४ तेलियास्थित निरौला डाँडानजिकैको जङ्गलबाट ठूलो परिमाणमा सल्लाको काठ बरामद भएको छ ।
स्थानीय व्यापारी नारायण गिरीको संलग्नतामा सो क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीसहित स्थानीय बासिन्दाको टोलीले अवैधरूपमा कटान गरिएको काठ बरामद गरेको हो । टोलीले उक्त स्थानबाट सरकारी ऐलानी जग्गामा काटिएको ४३ वटा खोटेसल्ला जातका रुखहरू कटान गरी ढुवानी गर्न लागेका २ सय ५ थान गोलिया काठ बरामद गरेको निशानदेवी सव– डिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामबाबु यादवले बताए ।
सो काठ नापजाँच गर्दा १ हजार १ सय क्युविक फिटभन्दा बढी हुन आउँछ । बरामद गरिएको उक्त काठ सरकारी नियन्त्रण हुने गरी स्थानीय बासिन्दाहरूको संरक्षणमा राखिएको छ । सव–डिभिजन प्रमुख यादवले तत्कालै निर्णय गरी उचित व्यवस्थापन गरिने र दोषीमाथि कानूनबमोजिम आवश्यक छानबिन गरी कारबाही गरिने बताए ।
त्यस्तैगरी सोही जग्गासँग सिमाना जोडिएको डिभिजन वन कार्यालय धनकुटाको नाममा कोशी करिडोर २२० केभी प्रसारण लाइन विस्तारको क्रममा सट्टाभर्ना बापत प्राप्त जङ्गलमा पनि दर्जनौं सल्लाको रुख काटिएका छन् । त्यसैगरी रातमाटे डाँडा सामुदायिक वनसँग जोडिएको ऐलानी जग्गामा समेत हालसालै रुखहरू कटान गरी बिक्री गरेको पाइएको छ । वन कार्यालयको जग्गामा अनुमति नै नलिई गिरीकै संलग्नतामा ती रुखहरू काटिएको स्थानीय बासिन्दा बताउँछन् ।
यसबारेमा जिज्ञासा राख्दा सव– डिभिजन प्रमुख यादवले भने पहिले सो जग्गा व्यक्तिका नाममा रहेको र हाल आएर कोशी करिडोरले खरिद गरी डिभिजन वन कार्यालय धनकुटालाई जिम्मा दिएको हुँदा जग्गाधनीले पहिले नै ती रुखहरू बेचेको हुनसक्ने बताएका छन् । तर उनले वन कार्यालयको नाममा जङ्गलसहितको ५४ रोपनी जग्गा आइसकेपछि रुख कटान गरिएको हो भने रुख काट्ने जो कोही कारबाहीको भागीदार हुने बताए ।
तेलिया र आसपासका वन क्षेत्रहरूमा वर्षौं अघिदेखि नै यस्ता अवैध क्रियाकलापहरू हुँदै आएको भए पनि दोषीलाई सामान्य सोधपुछ र मिलेमतोमा मुद्दा टुङ्ग्याइने प्रचलनले गर्दा समस्याले विकराल रूप लिँदै आएको स्थानीय योगेन्द्रप्रसाद घिमिरेले बताए । आफूहरू वनको उपभोक्ता र संरक्षकसमेत भएकाले दोषीमाथि कारबाही गरी यस्ता अवैध कार्यहरूलाई रोक्न वन कार्यालयलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्थानीय भञ्ज्याङ डाँडा सामुदायिक वनका अध्यक्ष सोमबहादुर लिम्बूले बताएका छन् ।
काठ तस्करीमा संलग्न भएको आरोप लागेका नारायण गिरी भने आफूलाई अरूले नै प्रयोग गरेर फसाएको बताउँदै आएका छन् । सो विषयमा डिभिजन वन कार्यालय धनकुटाका डिभिजन वन अधिकृत युवराज मास्केले छुटपुर्जी लिएर काठ काटेको नभई आफूखुशी सल्लाको रुख काटिएको पाइएकाले आवश्यक अनुसन्धान भइरहेको बताए ।
शुरुमा फोनबाट कार्यालयमा उजुरी आएपछि आवश्यक जाँचबुझ गर्न सव–डिभिजन कागतेका प्रमुख रामबाबु यादवलाई पठाउँदा सरकारी जग्गामा रुख कटान गरेको पाइएको बताए । उनले अवैध रूपमा काटिएको काठ बरामद गरिएको र आवश्यक कारबाहीको लागि अनुसन्धान भइरहेको बताए ।
छथरजोरपाटी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेकबहादुर तामाङलाई सरकारी जग्गामा रुख काटिएको विषयमा ब्लाष्टले सम्पर्क गर्दा आफूलाई जानकारी नभएको बताए । उनले वडा कार्यालयमा रुख काटिएको विषयमा कोही कसैबाट पनि उजुरी नआएको बताए । कोही कसैले गैह्रकानूनी ढङ्गले सरकारी तथा ऐलानी जग्गाको रुख काटेका हो भने वन ऐन अन्तर्गत कारबाही हुने वडाध्यक्ष तामाङले बताए ।