Aamsanchar

सिंहदरबारमै कुटिए कर्मचारी, उपसचिवमाथि शाखा अधिकृतको मुक्का प्रहार

Author Image
सोमवार, साउन २८, २०७५

काठमाडौँ ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालय निरीक्षक जीवन भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवेश गरी तोडफेड गरेका छन् ।

कर्मचारी सरूवाको विषयमा दवाब दिन मन्त्रालय पुगेका उनले संघीय प्रादेशिक कर्मचारी प्रशासन शाखा प्रवेश गरी गमला र टेबल कुर्सी फुटाएर उपद्रो मच्चाएका हुन् ।उनले उपसचिव ऋषि आचार्यलाई कुटपिट समेत गरेको स्रोतले जनाएको छ । भण्डारीले उपसचिव आचार्यलाई अश्लिल गाली गरी धाकधम्की दिँदै हातपात प्रयास गरेपछि अर्का कर्मचारी नेता आरसी अधिकारीले रोकेका थिए ।

सरुवाको लिष्ट आफूअनुकूल नभएको विषयमा विवाद भएपछि भण्डारीले आचार्यमाथि मुक्का प्रहार गर्नुका साथै कुर्सी उचालेर हान्न खोजेको स्रोतले जनाएको छ । भण्डारीले गमला समेत फुटाइएका छन् ।

घटनाबारे आवश्यक छानबिन गरी छिट्टै दोषीलाई कारबाही गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । स्रोतका अनुसार भण्डारीले शाखा अधिकृतको पोस्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोमा त्यहाँ नजाने भन्दै गिरीले चिठी बुझ्न मानेका थिएनन् । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ ।

कार्यकक्षमा प्रवेश गरी आक्रमण गर्न थालेपछि उपसचिव आचार्यले प्रहरीलाई खबर गरेका थिए । तत्कालै सिंहदरबार वृत्तबाट प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्य नेतृत्वको टोली परिचालन भएको थियो ।

प्रहरी टोली मन्त्रालय पुग्दा भण्डारी त्यहाँबाट हिँडिसकेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ । भण्डारी अहिलेसम्म पक्राउ परेका छैनन् ।-दैनिक नेपालबाट साभार

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर