सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।
गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ । गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ ।
बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।