कोरोना भाइरस सङ्क्रमितका लागि ७२ घण्टामा निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल आजबाट सञ्चालन हुँदैछ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् ।
७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन्, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”
भरतपुर महानगरपालिका-१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याईएको हो ।
जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघले जिम्मेवारी लिएका छन । प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ।
भरतपुर महानगर प्रमुख रेणु दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्वतयारीका लागि काम थालिएको बताइन्। सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति बेहोर्नु नपर्ने बताइन्।