बुटवल । भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्पताल निर्माण भएको खबर संगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ ।
अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।
बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईृसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रबार बिहानैदेखि निर्माणस्थलमा खटिएको छ ।
निर्माण स्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् ।
बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करिब १०० शैय्याको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख सुवेदीले बताए ।