भरतपुर । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव हुन् ।
उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंकामा सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।
भरतपुरको कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु, डाक्टर भन्छन्–कोरोनाको पुष्टि भएको छैन
‘यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आउनु भएको थियो’, डा अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, १० गते भर्ना गरिएको उक्त विरामीको स्वाब (नमुना कलेक्सन)१० गते गते नै गरी काठमाडौं पठाइएको छ ।’
उनको १० गते दिउँसोदेखिबाट नै श्वासप्रस्वासमा समस्या बढेपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा सारिएको उनको भनाइ छ ।
तर समस्या घट्नुको साटो बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
श्रोत : रातोपाटी