विराटनगर । पूर्वमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना विरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
शुक्रबारसम्म परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । पाँच जनाको भने रिपोर्ट आउन बाँकी छ ।
प्रदेश १ को आपतकालीन कार्य सञ्चालन केन्द्र विराटनगरका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, गाईघाटको उदयपुर अस्पतालबाट एक, विराटनगरको कोशी अस्पतालबाट छ र झापाको मेची अस्पतालबाट दुई जनाको गरी २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको थियो ।
७८ जना घर फर्किए
प्रदेश १ मा विभिन्न क्वारेन्टाइनमा बसेका ७८ जना घर फर्किएका छन । त्यसैगरी आइसोलेसनमा भर्ना भएकामध्ये ५ जना डिस्चार्ज भएका छन् ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल क्वारेन्टाइनमा ३ सय २८ जना रहेका छन् । १९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ३ सय ६९ जना होम क्वारेन्टाइनमा छन् ।
यसरी बस्नेहरु वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरुको परिवारका सदस्य छन् ।
प्रदेशका एक सय नौं स्थानमा एक हजार आठ सय ४८ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यस्तै प्रदेशका विभिन्न ३९ अस्पताल एवं स्थानीय तहमा स्वास्थ्य केन्द्रमा गरी दुई सय ५६ वटा आइसोलेसन शय्या छ । प्रदेश ठूला २९ अस्पतालमा तीन सय ७५ शय्याको आईसीयू कक्ष तयार पारिएको छ ।
आकस्मिक कामका लागि ३ करोड बजेट
प्रदेश १ सरकारले कोरोना भाइरस रोकथामका लागि ३ करोड रुपैयाँ निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक औषधी उपचारका लागि तत्काल पर्ने समस्यालाई समाधान गर्न सो रकम खर्च गर्ने छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारतसँग सीमा जोडिएका १४ स्थानीय तहमध्ये विराटनगर महानगरपालिका र मेची नगरपालिकालाई दश÷दश लाख र अरुको हकमा पाँचरपाँच लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए ।
यो रकमले आकस्मिक औषधी उपचार, क्वारेन्टाइनमा रहेकालाई खाना खुवाउने प्रबन्ध मिलाउन, हेल्थ डेक्समा चाहिने सामग्री बन्दोबस्त गर्न खर्च गरिनेछ ।
राहत प्याकेजको तयारी
लकडाउनका कारण प्रभावित विपन्न तथा श्रमिक परिवारका लागि प्रदेश १ सरकारले राहत प्याकेज ल्याउने तयारी गरेको छ ।
लकडाउन लम्बिने अवस्था आएपछि राहत प्याकेज ल्याउन सुझाव संकलन गर्न मुख्यमन्त्री शेरधन राईले सर्बपक्षीय छलफल आह्वान गरेका थिए ।
छलफलबाट प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्र राहत प्याकेज ल्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अस्पतालका प्रतिनिधि, निजी अस्पताल सञ्चालक, उद्योगी, व्यवसायीका प्रतिनिधि सहभागी थिए । अनलाइन खबरबाट साभार