Aamsanchar

भूकम्प र कोभिड–१९

Author Image
शुक्रवार, वैशाख १२, २०७७

२०७२ वैशाख १२ गते शनिबार भयंकर रूपमा जमिन हल्लिँदा मानिस आत्तिँदै कुदाकुद गरेको चार वर्ष भइसकेछ । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका पराकम्पन हालसम्म आइरहेका छन् । त्यसपछि वैशाख २९ मा पुनः ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । इतिहासतिर फर्केर हेर्दा ८६ वर्षअघि १९९० साल माघ २ मा यस्तै विपत्ति आएको थियो । गोरखा भूकम्पबाट ८ हजार९९० मानिसको मृत्यु हुनुका साथै २२ हजारभन्दा बढी मानिस गम्भीर घाइते भए भने ११९ अझै भेटिएका छैनन् । ९ लाख ५० हजार बढी घरपरिवार घरबारविहीन हुन पुगे ।
त्रासको स्मृति हाम्रो मानसपटलबाट हट्न नभ्याउँदै अहिले कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वलाई नै त्रसित बनाएको छ । यो आलेख तयार पार्दासम्म झन्डै चार लाख ३६ हजार संक्रमित भइसकेका छन् भने झन्डै २० हजारको ज्यान गइसकेको छ । धनको क्षतिको कुरा गर्ने हो भने त झनै विकराल अवस्था देखिएको छ । विश्व अर्थतन्त्र नै डगमगाउने संघारमा रहेको छ । यस आलेखमा भूकम्प र कोभिड–१९ का कारण भएको जनधनको क्षति वा यस्ता प्रकोपबाट बच्ने उपायबारे विश्लेषण गर्न खोजिएको छैन । यस आलेखमा यी दुई विपत्तिका कारण मानिसमा आएको मनोवैज्ञानिक विचलन र सामाजिक सम्बन्धको समाजशास्त्रीय दृष्टिबाट चर्चा मात्र गर्न खोजिएको छ ।
२०७२ को भूकम्पको बेला अधिकांश समय हामी सबै जना घरबाहिर चौरमा थियौँ, तर सँगै थियौँ । अहिले कोरोनाको विश्व्यापी महामारीमा हामी सबै घरभित्रै छौँ । तर, सबै टाढाटाढा छौँ ।’

घर भन्नेबित्तिकै दिनभरको थकान, अनेकन तनाव, र विभिन्न घबराहटबाट शान्त महसुस गर्ने ठाउँ हो । जहाँ अपनत्व हुन्छ, त्यहीँ मानिस आफूलाई सबैभन्दा सुरक्षित ठान्छ । तर, भूकम्पले यो सबै सोच र व्यवहारमा परिवर्तन ल्याइदियो । यद्यपि, त्यो केही दिन या महिनालाई मात्र थियो होला । त्यस समयमा मानिस दिन त जसोतसो खुला स्थान, पार्क या चौरतिर गएर बस्ने गर्थे । तर, जब सूर्य ढल्कँदै जान्छ, अँध्यारो छिप्पिँदै जान्थ्यो, सबै जीव, पशुपन्छी आफ्नो वासस्थानतर्फ लाग्थे । मानिसमा भने घर जाने भन्नेबित्तिकै एक किसिमको पीडा एवंम त्रास बढ्थ्यो । राती कतै फेरि परकम्प गएर विनाश हुने त होइन भन्ने मनोवैज्ञानिक भय सबैमा थियो ।

त्यो वेला कैयौँ रात मानिसले महललाई खाली राखेर खुला चौर या चौराहामा पालमुनि रात बिताउनु सुरक्षित ठाने । आफन्त, साथीभाइ र छरछिमेकी निकट हुँदा आफूलाई सुरक्षित महसुस गरेर पीडित नेपाली खुसी हुन्थे । परदेशमा बसेका आफन्त र साथीभाइ घर फर्कंदा सबैले आफूलाई सुरक्षित र बलियो महसुस गर्थे । प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भनेझैँ सामाजिक सम्बद्धता या सामाजिक मजबुती नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो भन्ने तथ्य भूकम्पको पीडामा स्पष्ट देखिएको थियो ।

भूकम्प र कोभिड–१९ को सन्दर्भ नियाल्दा सामाजिक निकटता र दूरीबारे देखिएका केही दृष्टान्तको विश्लेषण गरौँ । भूकम्पका समयमा हजारौँ मानिसले एकताबद्ध भई महिनौँसम्म खेलमैदान, खुला चौर, पार्क, टेन्ट या सामूहिक रूपमा खुला आकाशमुनि रात बिताए । त्यतिखेर परिवारजन, आफन्त तथा साथीभाइ सबै एकै ठाउँमा भेला हुनु, बस्नुलाई सबैभन्दा ठूलो शक्तिका रूपमा लिइन्थ्यो । यसरी समूहमा बस्दा सबैले सुरक्षित महसुस गर्थे । मानिसमा सामाजिक सम्बद्धता बढेको थियो । जात, धर्म र धनका आधारमा विभेद केही हदसम्म कम भएको थियो ।

तर, कोभिड–१९ ले भने सामाजिक दूरी बढाएको छ । खेलमैदान, पार्कलगायत सामाजिक स्थलमा मानिसको आवतजावत करिब–करिब ठप्प छ । सडकपेटीतर्फ हिँडिरहेको अवस्थामा एक मानिस अर्कोसँग डराएको छ । तर्केर हिँडिरहेको छ ।

देशमा लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा छन् । बन्न बाँकी घरको पनि यसै आर्थिक वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ।९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ ।

महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला देखा परेको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको छ।

सरकारले प्राधिकरण नै गठन गरेर पुनर्निर्माणको कार्य अगाडि बढाउन खोजे पनि त्यो सन्तोषजनक रूपमा हुन नसकेको चौतर्फी आलोचना खेप्दै आएको छ । पाँच वर्षको समयमा सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्य हासिल गर्न सरकारलाई निकै ठूलो चुनौतीको सामना गरिरहनुपरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर