Aamsanchar

बल्ल बल्ल पाएको खाइसक्नुको छैन, भोकले पिरोलिएकाहरुलाई राहतमा सडेको चामल

Author Image
बुधवार, वैशाख १७, २०७७

जनकपुरधाम । एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए । वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको एउटा पोका दिइयो । भात खान पाइने भएपछि उनी ती सामग्री नयाँ उमंगका साथ घर ल्याए ।

तर, उनको खुशी भने पोका खोल्नेबित्तिकै हरायो । पोकाभित्र दैनिक उपभोग्य सामग्री त थियो नै तर, त्यसभित्रका चामल र आलु कुहिएको पाइयो । ‘राहतको पोका लिएर आउनेबित्तिकै के–के छ भनेर हेर्न थालेँ’ साहले भने, ‘खोल्नेबित्तिकै चामल सडेको र आलु पनि कुहिएको पाइएको छ ।’

सडेको चामल र कुहिएको आलु राहत स्वरुप लिनेमा चन्दर मात्रै होइनन् । यो गाउँका चमेलीदेवी, नथुनी यादव, रामाशिष खत्वे, संजय साफी, जगदीश महरासहित धेरै व्यक्ति छन् । वडा कार्यालयले वितरण गरेको राहत सडेको र कुहिएको पाइएपछि उनीहरु आक्रोशित भएका छन् ।

दिइएको राहत पनि सडेको पाइएपछि विपन्नहरुले वडा अध्यक्ष जैसीलाल भिडबार र मेयर उदय बरबरियाविरुद्व नाराबाजी गरेका छन् । उनीहरुले यस्तो राहत दिने जनप्रतिनिधिलाई कारवाहीको मागसमेत गरेका छन् ।

शहीद नगरपालिकाले प्रत्येक विपन्न परिवारलाई १० किलो चामल, २ किलो दाल, १ लिटर खाने तेल र १ प्याकेट नून उपलब्ध गराउने निर्णय गरेको थियो । वडा अध्यक्ष जैसीलाल भिडबारले कतै पनि सडेको र कुहिएको सामग्री राहतमा वितरण नगरिएको दावी गरे । उनले विपक्षी दलहरुले आफूलाई बदनाम गर्न यस किसिमको षड्यन्त्र गरिएको बताए ।

उनले ५ सय ४० परिवारलाई राहत वितरण गर्दा कसैले पनि कुहिएको नदेख्ने अनि केही व्यक्तिकै राहत यस्तो देखिनु भनेको आफूलाई बदनाम गर्नु मात्रै भएको बताए । धनुषामा राहतको नाममा कुहिएको सामग्री दिएको यो कुनै नौलो होइन । यसअघि जिल्लाको कमला नगरपालिकामा पनि बितरण गरिएको राहत कुहिएको पाइएको थियो ।

कमला नगरपालिकाको वडा नम्बर ५ स्थित लक्कड टोलमा राहत वितरण गर्दा झण्डै ५० जनालाई सडेको चामल र कुहिएको आलु बितरण गरिएको पाइएको थियो । उक्त राहत पाएकाहरुले भने लिएकै ठाउँमा फ्याँकिदिएका थिए ।  अनलाइन खवरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर