Aamsanchar

विद्युतीकरण हुने भएपछि स्थानीयवासी हर्षित

Author Image
सोमवार, भदौ २७, २०७३

पाँचथर ।

download

पाँचथरको १० गाविसमा विद्युतीकरण हुने भएपछि स्थानीयवासीमा हर्षित भएका छन् । फिदिम विद्युत् उपभोक्ता सहकारी संस्थाको प्रस्तावबमोजिम नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले रु ३५ करोड बजेट विनियोजन गरेकाले उनीहरुमा खुसियाली छाएको हो ।

संस्थाका सदस्य तथा पूर्व सांसद वसन्तकुमार नेम्वाङले विभागमा पेस गरेको प्रस्तावअनुसारको बजेट स्वीकृत भएपछि जिल्लाका १० गाविसमा विद्युतीकरण हुने आशा पलाएको बताउनुभयो । रानीगाउँमा विद्युतीकरणका लागि रु पाँच करोड १० लाख, याशोकमा रु तीन करोड ४७ लाख, नाङ्गिनमा रु चार करोड ४८ लाख, रानीटारमा रु दुई करोड ८५ लाख विभागले विनियोजन गरेको छ ।

यसअघि नै विभागले लिम्वामा विद्युतीकरणका लागि रु पाँच करोड ५० लाख, दुर्दिम्बामा पनि रु पाँच करोड ५० लाख, नाँगीमा पाँच करोड, लुङ्रुपामा रु दुई करोड ३० लाख, स्याबरुम्बामा रु पाँच करोड बजेट स्वीकृत गरिसकेको नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लोपटक बजेट स्वीकृत भएको रानीगाउँ, याशोक, नाङ्गिन र रानीटारवासीले बजेट स्वीकृत भएको ४५ दिनभित्रमा छुट्टै विद्युत् सहकारी संस्था गठन गरेर विभागसँग सम्झौता गर्नु पर्नेछ ।  जिल्लाका अधिकांश गाविसमा भने अझैसम्म रकम विनियोजन भएर पनि पोलमात्रै गाडिएको छ, अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

पाँचथरको फाक्तेपस्थित पञ्चमीबजारदेखि दशमी, उत्तरे, सप्तमी र रवि हुँदै सडकमा गाडिएका पोलमा अहिले खिया लाग्न थालिसक्यो तर विद्युतीकरणका लागि काम हुन नसकेको सप्तमीबजार व्यवस्थापन समितिका अध्यक्ष गङ्गा आङ्देम्बेले बताउनुभयो ।  आयोजनाको जिम्मा लिएको ठेकेदार नै सम्पर्कविहीन भएपछि काम अघि बढ्न नसकेको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर