Aamsanchar

लिपुलेक कालापानीबारे भारतसँग स्पष्ट विवरण मागेका छौँ : मन्त्री ज्ञवाली

Author Image
शनिवार, वैशाख २७, २०७७

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन विषयमा भारत सरकारसँग स्पष्ट विवरण माग गरेको बताउनु भएको छ ।

मन्त्रीज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताएका हुन् ।

‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ,’ मन्त्री ज्ञवालीले भने । नेपाली भूमिमा भारतले एकतर्फी रूपमा नयाँ सडक ट्र्याक खोलेको विषयले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेको थिए ।
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्र्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो । तर यो मुद्दामा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर