बैतडी ।
जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ । पहिला वर्षे खेतीको रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको जिल्लाको कुवाकोट गाविसका किसान लालबहादुर खडायत बताउनुहुन्छ ।
कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ । श्रीकोटका किसान हेमराज गिरी गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहरबजारतिर खोजी खोजी खान थालिएको बताउनुहुन्छ । सडक सञ्जाल विस्तार भएसँगै तराइबाट चामल, गहुँ भित्रिन थालेपछि कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो ।
धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण लोप हँुदै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारी बताउनुहुन्छ । जिल्लाको चौखाम, थलाकडा, कुवाकोटलगायत क्षेत्रमा कोदोको खेती गरिँदै आएको छ । उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने तिवारीको भनाइ छ । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।
परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ ।
कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थी बताउनुहुन्छ ।