Aamsanchar

क्वारेन्टिनमा बसेकाहरुले प्रशासकीय अधिकृतलाई कुटे

Author Image
बुधवार, जेठ २१, २०७७

दैलेख । स्थानिय निकायहरुले मापदण्ड अनुसारको सुविधायुक्त क्वारेन्टिन नबनाएको धेरै तिरबाट गुनासाहरु सामाजिक संजालमा पोखिईरहदा  दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार आक्रमण गरेका छन् ।

वडा नम्बर–४ स्थित ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा बसेकाहरुको समूहले क्वारेन्टिन स्थलको व्यवस्थापन उचित नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अधिकृत थापाले भने, ‘१३ दिनदेखि क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरुको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाउने तयारी भइरहेको थियो । उहाँहरुलाई घरमा पनि सावधानी अपनाउन आग्रह गर्दै थिएँ । त्यहीबेला केही व्यक्तिहरुले गाउँपालिकाको स्टोर हेरौं भन्दै विवाद सिर्जना गरे । मैले स्टोर भोलि हेरौँला भन्दै थिएँ । त्यहीबेला ममाथि मुक्का प्रहार भयो । कालोमोसो दल्ने प्रयास समेत गरे । तर म भाग्न सफल भएँ ।’

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको बाहना बनाएर आफूमाथि योजनाबद्ध तरिकाले आक्रमण गरेको उनको भनाइ छ । थापाका अनुसार उक्त क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका एक महिला, ३ जना बालबालिकासहित ४२ जना बस्दै आएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत थापामाथि आक्रमण गरेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

केही दिनअघि वडा नम्बर–३ को एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै गाउँपालिका घेराउ समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर