काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं ९ स्थित क्वारेन्टाइनमा रहेका एक स्वास्थ्यकर्मी माथि आक्रमण हुँदा घाइते भएका छन्।
पिसिआरमा कोरोना नेगेटिभ र आरडिटीमा पोजिटिभ आएको भन्दै क्वारेन्टाइनमा रहेका व्यक्तिले आक्रमण गर्दा स्वास्थ्यकर्मी खुर्शद आलम घाइते भएका हुन्। क्वारेन्टाइनमा रहेका केही व्यक्तिको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
उनीहरुलाई बुधबार डिस्जार्च गर्ने क्रममा आरडिटी परीक्षण गरिएको थियो। आरडिटीमा पोजिटिभ देखिएपछि उनीहरुले कोरोना सारेको भन्दै आलम माथि आक्रमण गरेको नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्टले बताए।
उनीहरुको आक्रमणबाट आलमको टाउकोमा चोट लागेको छ। सरकारले कुनै ऐन कानून नल्याउँदासम्म स्वास्थ्यकर्मीहरु सुरक्षित नहुने भट्टले बताए।
उनले भने, ‘सरकारले दोषिलाई कारबाही नगर्दा सम्म यस किसिमको घटना दोहोरि रहन्छ। ऐन नआउने हो भने भोलि ठुलो दुर्घटना नहोला भन्न सकिँदैन।’ सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी र दोषिलाई कारबाही गर्नुपर्ने उनको माग छ।
यसअघि डोटीको दानकोट स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी स्थानीयको कुटपिटपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।
कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउँदै गर्दा स्थानीयले कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मी रमेश कुँवरलाई जेठ १८ गते ढुंगा हानेर कुटपिट गरेका थिए। उनको देब्रे आँखा, टाउको र हातमा चोट लागेको छ। श्रोत : स्वास्थ्य खबर