Aamsanchar

कोरोनाको संक्रमण समुदायस्तरमै फैलिने खतरा बढ्यो

Author Image
मङ्गलवार, असार ९, २०७७

सांकेतिक तस्वीर : गुगलबाट

काठमाडौं । दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि संक्रमण समुदायस्तरमै फैलिने खतरा बढेको छ । हालसम्म संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका रहेका छन् ।

संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण देखिएको छैन । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार समुदायमा अझै संक्रमण फैलिएको छैन । महाशाखाका निर्देशक डा। पाण्डेले भने, ‘अधिकांश १५ देखि ४५ वर्ष उमेर समूहका छन् । तर, अझै समुदायस्तरमा संक्रमण फैलिएको छैन ।’

जनस्वास्थ्य विज्ञहरू संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताउँछन् । यसैबीच सोमबार थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना उपचारपछि निको भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ । अहिलेसम्म १ लाख ८१ हजार ३ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

मुलुकभर हाल ७ हजार ७ सय ८९ जना अस्पतालको आइसोलेसनमा र ९० हजार ७ सय ३० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)