विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ
काठमाडौँ — तपाईंको दैनिकी कस्तो छ रु बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने, सुतिहाल्ने । यदि जीवनशैली यस्तै छ भने तपाईं नजानिँदो ढंगले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बन्नुहुन्छ ।
बदलिँदो जीवनशैली र नमिल्दो खानपिनका कारण पछिल्लो ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीको समस्या बढ्दै गइरहेको छ । चिकित्सक रुघाखोकीजस्तै उक्त समस्या पनि साझा बनिरहेको बताउँछन् ।
शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने सामान्य दुर्घटना हुँदा पनि अगंभंग हुने मोटोपन बढेर घुँडा दुख्ने समस्या आइपर्ने गलत जीवनशैलीका नतिजा हुन् । हाडजोर्नी रोग विशेषज्ञ डा. दीपेन्द्र पाण्डे भन्छन्, ‘सूर्यको किरण शरीरमा पर्न पाउँदैन, सहरमा घाम उदाउनुअघिदेखि नअस्ताएसम्म मानिस व्यस्त हुन्छन्, जसले गर्दा शरीरमा भिटामिन ‘डी’ को कमी भई हाडजोर्नी कमजोर बनाइरहेको छ ।
कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्नेजस्ता समस्या निम्त्याइरहेको उनले बताए । उनले थपे, ‘हाड भनेको जति प्रयोग गर्यो उति बलियो हुने अगं हो, यसको प्रयोग हुन नसक्दा गुणस्तरीय जीवन घटदै गइरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तिने गरेको छ । बाँकी २० प्रतिशत अन्य कारण हुन् जुन शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् ।
८० प्रतिशत समस्या जीवनशैली सुधार गरे मात्रै रोक्न सकिने मेरुदण्ड विशेषज्ञ डा। गौरवराज ढकाल बताउँछन् । उनी भन्छन्, ‘शारिरीक क्रियाकलाप कम हुनु तथा मानसिक तनाव बढी हुनु यसका मुख्य कारण हुन्, जकंफुड र धूम्रपानको पनि उत्तिकै भूमिका खेलिरेहको छ ।’ बढी समय काममा खट्ने तथा स्वास्थ्यलाई ध्यान नदिदाँ सहरी भेगका मानिसमा यस्ता समस्या विकराल हुँदै गइरहेको उनले बताए ।
ढाड दुख्ने समस्या लिएर ट्रमा सेन्टर पुगेका अधिकांश बिरामी धेरै बेर उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरमा बढी समय बिताउने, अनि नियमित मोटरसाइकल चढ्ने गरेको बताए । समस्याको मुख्य कारण पनि यही रहेको डा। ढकालले बताए । विशेषगरी युवावर्ग यस्ता समस्याको मारमा छन् । बालबालिका पनि यस्ता समस्या लिएर अस्पताल पुगिरहेका छन् ।
पढाइको धेरै मानसिक तनाव, गह्रुंगो झोला र धेरै बेर निहुरिएर मोबाइल चलाउने, सुतेर टीभी हेर्ने, नरम ओछयान र अग्लो सिरानीमा सुत्ने बालबालिका बढी प्रभावित भइरहेका छन् । डा। ढकाल भन्छन्, ‘गाउँघरमा जस्तो बालबालिकाको खेल्ने–कुद्ने बानी छैन, स्कुलमा पनि खेलकुद र व्यायमबारे उनीहरूलाई खासै सिकाइँदैन ।
ट्रमा सेन्टरको हाडजोर्नी विभागको तथ्यांक हेर्दा खेलकुद, व्यायाम र स्वास्थ्य खानपानबारे हेलचक्रयाइँ गर्दा हरेक १० मध्ये ८ ले यस्ता समस्या भोगिरहेका छन् । गाउँघरमा बस्ने, बिहानै उठ्ने करेसाबारीमा काम गर्ने अनि हिँडिराख्नेहरू हाडजोर्नीसम्बन्धी समस्या लिएर विरलै अस्पताल पुग्छन् । रूखबाट लडेर या चिप्लिएर मात्रै उनीहरूमा यस्ता समस्या देखिने गरेको डा। ढकाल बताउँछन् ।
उनी भन्छन्, ‘जीवनशैलीका कारण देखिएको समस्या जीवनशैली परिवर्तन गरेर मात्रै समाधान हुन्छ, औषधि र उपचार त सेकेन्डरी उपाय मात्रै हो ।’ दिनमा एक घण्टा व्यायाम गर्ने, धेरैबेर कुर्सीमा बसेर काम गर्नेले बेलाबखत उठेर तन्किने अनि खानेकुरामा मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण हुने उनी बताउँछन् ।
यस्ता समस्याबारे समयमा नसुधारेमा दुखाइ शरीरका विभिन्न भागमा फैलिन सक्छ । हातखुट्टा झमझमाउने, लुलो हुने, वजन घटेर कमजोरी हुने हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस भएर जीवनभर ओछयान पर्ने समस्या पनि हुने गरेको छ ।
सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सक बताउँछन् । यसलाई प्रभावकारी बनाउन विद्यालय तहबाटै अभ्यास सुरु गर्नुपर्छ । व्यायामलाई दैनिक जीवनसँग जोड्न सामुदायिक व्यायाम केन्द्र निर्माण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।