पाँचथर।
ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ ।
रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म रु ३४ लाख ४० हजार रकम लगानी भइसकेको छ ।
रकम अभावले निर्माण सुस्ताएको उक्त रङ्गशालाको निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट रु ५० लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुग्दा नेपालमा गत वर्ष वैशाखमा भूकम्प गएकाले सो रकम उपलब्ध सकेन । यसबाट पनि रङ्गशालाको काम अघि बढ्न नसकेको खलङ्गटार उमाविका शिक्षक शिवकुमार थाम्सुहाङले जानकारी दिनुभयो ।
खलङ्गाटार उमावि याङ्नामको स्वामित्वमा रहेको उक्त खेल मैदान याङ्नाम गाविसका सरोकार भएका सङ्घसंस्थाको परिकल्पनाबाट २०६४ साल फागुनदेखि निर्माण थालनी भएको हो ।
रङ्गशाला निर्माणका लागि पर्याप्त रकम जुटाउन नसक्दा निर्माण थालनी भएको एक दशक पुग्दा पनि पूर्णता दिन नसकिएको शिक्षक थाम्सुहाङले बताउनुभयो ।