Aamsanchar

यसो गरे आगलागी हुदैन

Author Image
आइतवार, वैशाख ५, २०७३

aago
[ रामचन्द्र न्यौपाने]

मौसम आगलागीको सुरु भएको छ । अबको मौसम सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ ।
आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले आगलागी हुन नदिन निम्न कुरामा ध्यान दिनु जरुरी छ
– खाना पकाउन वा आवशयक काममा आगोको प्रयोग होसियारीका साथ गर्नु पर्छ ।
– केटाकेटीलाई आगो प्रयोग गर्नबाट रोक्नु पर्छ ।
–सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता आगोले सजिलै सल्किने वस्तु सुरक्षित राख्ने र बालबालिकाले नभेट्ने गरी राख्ने ।
– हुरीबतास चलेको समयमा आगोको प्रयोग नगर्ने ।
– आगोको प्रयोग गरीसकेपछि अगेनु, चुलो वा आगो बालेको ठाउँमा राम्ररी पानी लगाएर आगो पूरा निभाउने ।
– चुरोट, बिँडी, सुर्ती आदि सल्काएर खाँदै नहिँड्ने वा खाँदै नखाने, खाएमा राम्ररी निभाएर मात्र त्यसका ठूटा फाल्ने ।
– वनजङ्गल छेउछाउ आगो नबाल्ने र वनमा आगो नलगाउने ।
१. आगलागी भइहाले के गर्ने ?
– आगलागी भएको जानकारी गाउँसमुदायसम्म राम्ररी पुग्नेगरी कराउँदै वा सिट्ठी फुकेर जनसहभागिता जुटाउने ।

– आगो फैलन नपाउँदै नियन्त्रणमा तत्कालै जुट्ने ।

– आगलागी नियन्त्रण गर्ने स्रोत, साधनको सहीरूपमा उपयोग गर्ने ।

– उपलब्ध जनशक्तिलाई लाइनबद्ध गर्ने र पानी, हरिया बोटबिरुवा, बालुवा, माटोजस्ता वस्तु एकले अर्कामा हस्तान्तरण गर्दै आगलागी भएको स्थानसम्म पु¥याउने ।

– सबैले सहयोगको भावनाले काम गर्ने ।

– स्रोतसाधन नभएका स्थानमा छेउछाउमा आगो बढ्न नदिनु नै आगो नियन्त्रणको सफलता भएकाले त्यसतर्फ ध्यान दिने ।

– आगलागीमा परेका मानिसलाई सम्भव भए अवस्थाअनुसार कुदेर, पल्टँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निक्लन लगाउने तथा सहयोग पु¥याउने ।

– आगोको घेराबाट निक्लन सम्भव नभएका पीडितलाई पानीले भिजेकोे कपडा दिने प्रयोग गर्ने र त्यस्तो कपडा शरीरमा बेरेर बाहिर निकाल्न सहयोग गर्ने ।

२. घटनाबारे खबर गर्दा पालन गर्नुपर्ने कुरा
घटनाबारे आपतकालीन उद्धारका लागि वारुणयन्त्र सेवालाई खबर गर्दा निम्न कुराहरूको छोटकरीमा जानकारी दिनुपर्दछ ः
– कस्तो घटना भएको हो ?
– घटना कुन ठाउँमा भएको हो ?
– घटनास्थल पुग्ने बाटो कुन हो ?
– बाटोको अवस्था कस्तो छ ?
– घटनाको प्रकृति कस्तो छ ?
– खबर गर्नेको नाम र सम्पर्क टेलिफोन नम्बर आदि ।

३. उद्धार दलले गर्नुपर्ने काम तथा कर्तव्य

उद्धार दलमा खटिएका अग्निनियन्त्रकको कर्तव्य आगो निभाउनु मात्र हुँदैन, प्रकोपमा फसेका केटाकेटी, बूढाबूढी, अपाङ्ग र अशक्त मानिसकोे उद्धार गर्नु उनीहरूको प्रथम कर्तव्य हुन्छ । त्यसपछि आगो नियन्त्रणका कार्य सुचारु गर्दै घाइतेको उपचारको प्रबन्धसमेत एकैसाथ मिलाउनुपर्दछ । अग्निनियन्त्रक टोलीले सधैँ प्राथमिकताका आधारमा विवेक प्रयोग गरी कार्य गर्नु आवश्यक हुन्छ ।
४. आगो नियन्त्रण टोलीले अपनाउनुपर्ने प्राथमिकताक्रम
आगलागी भएको स्थान, भौगोलिक अवस्था, मानवीय तथा अन्य भौतिक क्षतिको सम्भावनाको तत्कालै आँकलन गरी अग्निनियन्त्रकले प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने हुन्छ । प्रथमिकताक्रम नियन्त्रण गर्दा विशेषगरी निम्न विषयलाई ध्यान दिनुपर्दछ ः
क. घटनास्थलमा प्राथमिकताका आधारमा काम गर्ने ।
– आफ्नो सुरक्षा गर्ने ।
– घाइते र फसेकाको उद्धार गर्ने ।
– आगलागी नियन्त्रण गर्ने ।
– आगलागी छेउछाउ फैलन नदिने ।
– घाइतेको प्राथमिक उपचार गर्ने ।
ख. उद्धारमा अशक्तलाई पहिलो प्राथमिकता दिने ।
ग. बालबच्चा, महिला, वृद्धवृद्धा तथा घाइतेको उद्धार गर्ने ।
घ. सावधानीसाथ काम गर्ने ।
ङ. घटनास्थलबाट निकालेका वस्तुहरूको सुरक्षा गर्ने ।
च. उद्धार गर्ने, विपद् नियन्त्रण गर्ने, घाइतेको प्राथमिक उपचार गर्ने र घाइतेलाई अस्पताल लाने व्यवस्था मिलाउने ।
छ. क्षतिको विवरण लिने ः
– घटनाको कारण
– घटनास्थलको क्षेत्रफल
– आर्थिक क्षतिको आँकलन
– घाइतेको अवस्थाको विवरण
– मृतकको सङ्ख्या आदि ।
५. आगो नियन्त्रणमा जनसहभागिता
समाजमा भइरहने प्रकोप नियन्त्रण र व्यवस्थापन गर्न सरकारी प्रयास मात्र यथेष्ट हुँदैन भने उसकोे उपस्थिति पनि सबै स्थानमा सम्भव हुँदैन । यसका छरछिमेक तथा स्थानीय समुदायकोे जागरुकता तथा सहभागिता आवश्यक हुन्छ । सामूहिक सहभागिता र बचावटका स्थानीय प्रविधिको उपयोगको ज्ञान तथा जनचेतना प्रकोप न्यूनीकरणका लागि सहायक हुन्छ । चेतनशील समाजमा आगलागी नियन्त्रण गरी क्षति कम गर्ने कार्य प्रभावकारीरूपमा सञ्चालन गर्न सकिन्छ । यस्तो सामाजिक अवस्थाको विकास गर्न स्थानीय समुदायको सहभागिता हुने र तिनलाई प्रत्यक्ष लाभ हुने कार्य गरिनु सान्दर्भिक हुन्छ ः

क. जनचेतनामूलक कार्यक्रम

आगलागी हुने कारण र त्यसबाट पुग्ने मानवीय, आर्थिक, सामाजिक, भौगोलिक, पर्यावरणीय असरबारे जनतालाई चेतनशील बनाउने, यस्तो विपद्वाट सुरक्षित गराउने र क्षति न्यूनीकरणमा जनसहभागिता जुटाउने प्रयास पूर्वतयारीको पहिलो कार्य हो । जनचेतना अभिवृद्धि गर्न रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता आमसञ्चारका माध्यमबाट यस्ता घटना हुनसक्ने कारण, क्षति न्यूनीकरणका उपाय, उद्धार, क्षतिको मूल्याङ्कन, तथ्याङ्क सङ्कलन, राहत वितरण आदि विषयमा जानकारी गराउँदा घटनाको मात्रा र तिनबाट पुग्ने क्षतिमा कमी आउँछ ।

ख. गैरसरकारी संस्थाको संलग्नता

नेपालमा प्रकोपका विविध क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको संलग्नता स्थानीयस्तरमा पनि बढ्दै आएको छ । सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेका क्षेत्रमा आँखा पु¥याएर सामुदायिक सहभागिताका आधारमा काम गर्ने प्रयासमा लागेका धेरै गैरसरकारी संस्थाले प्रकोप व्यवस्थापन, पूर्वतयारी, आपतकालीन उद्धार तथा राहतका क्षेत्रमा कार्यरत छन् । प्रकोपकै अवस्थामा तत्कालै सरकारको उपस्थिति सम्भव नहुन पनि सक्दछ । त्यस्तो अवस्थामा प्रकोपसँग सम्बन्धित कार्य गर्ने गैरसरकारी संस्थालाई आगलागी नियन्त्रण तथा आपतकालीन उद्धार र सहयोगका निमित्त सरिक गराउनुपर्दछ ।

ग. होर्डिङबोर्ड राख्ने वा पोस्टर टा“स्ने

आगलागीबारे सचेत बनाउँदै क्षति न्यूनीकरण र प्रकोप नियन्त्रणमा जनसहभागिता जुटाउन सार्वजनिक स्थानमा सरल भाषाका होर्डिङबोर्ड राख्ने, पोस्टर टाँस्ने, पर्चा वितरण गर्नेजस्ता कार्य गर्न सकिन्छ ।

घ. शिक्षामूलक कार्यक्रम

आगलागी वा अन्य विपद्बाट बच्न पूर्वतयारी, सम्भाव्य स्थानको पहिचान तथा छनोट, प्रकोप रोकथामका उपाय, घटना वा घटनापछि घाइतेको उद्धार तथा प्राथमिक उपचारको व्यवस्था, राहत वितरण, पुनर्निर्माण तथा पुनस्र्थापनजस्ता विषयमा सरल भाषामा पाठ्यसामग्रीको व्यवस्था, गाउँघर, सडक वा स्थानीय मञ्चमा देखाउन सकिने नाटक, टेलिफिल्म, प्रहसन आदिका माध्यमबाट सबैलाई सजग बनाउनु उपयुक्त हुन्छ । विपद्का बेला आफ्नो सम्पत्ति र आफन्त गुमाएकालाई अरूले दिने मानवीय सहयोग नै जीवनको आधार हुन्छ । विपद्मा धनी–गरिब जो पनि पर्नसक्छ भन्ने सन्देश सबैमा पु¥याउनसके जनमानसमा सहयोगको भावना जाग्नेछ ।

ङ. स्थानीय निकाय र स्रोतसाधनको व्यवस्थापन

स्थानीय निकायहरूमा प्रकोपसम्बन्धी बजेटको व्यवस्था गरी स्रोत र साधन जुटाउने तथा आगलागी तथा अन्य प्रकोप नियन्त्रणका तालिम, अनुभवको आदानप्रदान गर्ने तथा संरचना निर्माणका मापदण्ड लागू गर्नेजस्ता विभिन्न कार्य गर्नसके आगलागीको प्रकोप न्यूनीकरण, नियन्त्रण तथा पीडितको उद्धारकार्य सजिलो हुन्छ ।

च. औषधिउपचार र राहत सामग्रीको व्यवस्था

घटनाबाट पीडितहरूको उद्धारसँगसँगै घाइते मानिसलाई तत्कालै उपचारको आवश्यकता पर्दछ । कुनै घाइतेले तुरुन्त उपचार नपाए उसको मृत्यु हुनसक्छ । त्यस्तो अवस्थामा स्थलगत ट्रमा अस्पताल वा स्थानीय निकायमै प्राथमिक उपचारको व्यवस्था हुनु जरुरी हुन्छ । प्रकोपबाट घाइते भएकाको प्राथमिक उपचारका सामग्री स्थानीय समुदायमा समुदायकै रेखदेखमा राख्ने व्यवस्था गरिनुपर्दछ । प्राथमिक उपचारपछि आवश्यक परे अस्पताल लैजाने व्यवस्था पनि गर्नुपर्दछ । प्रकोपपीडित व्यक्ति वा परिवार वा समुदायलाई तत्काल राहत सामाग्री उपलब्ध गराउनु पनि आवश्यक हुन्छ । सरकारले प्रकोपको सम्भावित क्षेत्रमा स्थानीय निकाय, समुदाय तथा सम्बन्धित क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको संयोजनमा आपतकालीन उद्धार र राहत सामग्रीको व्यवस्था मिलाउनु आवश्यक हुन्छ ।

छ. पीडितको मनोबल बढाउने

प्रकोपपीडितलाई दुःखको समयमा हिम्मत, साहस दिनु पनि महŒवपूर्ण कार्य हो । यसबाट पीडितलाई पीडा र दुःखको घडीमा एक्लो महसुस हुँदैन । यस्तो समयमा दिइने सान्त्वनाले घाइतेलाई बाँच्ने मनोबल वृद्धि गर्दछ भने पीडितलाई पीडाबोधबाट बाहिर निस्कने साहस प्रदान गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर