Aamsanchar

आठ वर्षसम्म छोरा थिएँ, त्यसपछि छोरी भएँ

Author Image
शुक्रवार, वैशाख १०, २०७३

asmi
 अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६

खासमा उनको नाम अस्मि हो तर पत्रिका र अनलाइनभरि उनको नाम अश्मी भएर आएकोमा उनको दुखेसो छ । आखिर नामकै लागि हरेकले दु:ख गरिरहेका छन् । संसारमा नामकै लागि अनेक रेकर्ड राखिन्छ भने आफ्नो नामको हिज्जेमा त्रुटि भएकोमा दु:ख लाग्नु अस्वभाविक पनि होइन । अस्मि ब्युटिफुल मात्र छैनन्, अलिकति बोल्ड पनि छिन् । यो कुरा उनलाई भेटेपछि नै थाहा हुन्छ ।

महिलालाई आरक्षण चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्नमा उनले दिएको उत्तर पनि कम छैन । अस्मिले मिस नेपालको अन्तिम राउन्डमा दिएको उत्तर थियो, ‘महिलालाई आरक्षण चाहिँदैन, किनभने आरक्षणबिना नै यसअघि तीन जना महिलाले सीएनएन हिरोको उपाधि जितिसकेका छन् भने हामीले राष्ट्रपति पनि पाइसकेका छौं । २२ वर्षीय अस्मिले मिस नेपालबाहेक मिस इन्टलेक्चुअल, मिस फोटोजेनिक तथा बेस्ट इभनिङ गाउनको उपाधि पनि जितेकी थिइन् । केही विज्ञापन र दुई दर्जनजति र्‍याम्प मोडलिङमा भाग लिइसकेकी अस्मि प्रतियोगिताअघि नै आममानिसको नजरमा परिसकेकी थिइन् । यिनै सुन्दर र बोल्ड युवतीसँग साप्ताहिकले अन्तरंग कुराकानी गरेको थियो ।

कस्तो लागिरहेको छ, मिस नेपाल भएपछिका दिन बित्दै गएपछि खुसीमा कमी आउँदो रहेछ ?
जे सपना देखेकी थिएँ, त्यो पूरा हुँदैछ । मिस नेपाल घोषणा हुँदाको खुसी बाहिर आइसक्यो, आँसुका रूपमा । अब हाँसो, खुसी साटासाट अनि व्यस्तता । आखिर खोजेको पनि यही थियो । खुसी घटेको छैन, बढिरहेको छ ।

अनुहारमा केही थकान देखिन्छ, किन ?
दिनभरि अन्तर्वार्ता, फोटोसुट, परिवारसँगको खुसी साटासाट । यता आइज, उता जा । ओहो, यस्तो लाग्छ, म साँच्चिकै व्यस्त मान्छे हुँ । आखिर शरीर हो, थाकिहाल्छ नि ।

अनि मिस नेपालको घोषणा भएपछि स्टेजमा रोइहाल्नुपर्छ, नरुँदा हुँदैन ?
मैले धेरै वर्षअघि मिस नेपालमा भाग लिन्छु, उपाधि जित्छु भन्ने सपना देखेकी थिएँ । त्यो सपनाको बीउ उम्रेर रूख भएको थियो । मिस नेपालको फर्म भर्दा, टप लिस्टमा छानिँदा र महिना दिनभरि तालिम लिँदा त्यो सपनामा फल लाग्दो रहेछ । जब तपाईं वर्षौंदेखि कुनै सपना देख्नुहुन्छ र अचानक त्यो सपना पूरा भएको महसुस गर्नुहुन्छ, त्यो खुसी कसरी प्रकट हुन्छ ? आँसुबाहेक त्यो खुसी निस्कने कुनै अर्को उपाय छैन । त्यो स्टेजमा पुगेर नरुने कोही हुँदैनन् । मभन्दा अघिका दिदीमिस नेपालहरूको आँखामा पनि आँसु आएको थियो । त्यतिबेला म पनि किन रोएका होलान् भन्ने सोच्थें ।

जब आफैंले भोगियो, थाहा भयो त्यो बेला किन रोइन्छ । रुन्नँ भन्ने पनि थियो तर फ्लोरबाट बुवा, ममी र दिदीले अस्मि, यू विन भनेर कराएपछि त आफूलाई थेग्नै सकिनँ ।

कहिलेदेखि मिस नेपाल बन्ने सपना देख्नुभएको थियो ?
यही बेला भनेर यकिनसाथ भन्न सक्दिनँ, तर जब–जब मिस नेपालको चर्चा हुन्थ्यो, मेरो पनि लक्ष्य यही हो भन्ने लाग्थ्यो ।

मिस नेपालको विरोधमा समाचार आउँदा कस्तो लाग्छ ?
उहाँहरूप्रति दया लागेर आउँछ । मिस नेपालमा भाग लिने युवतीहरूको संख्या ४ सय पुगिसकेको छ । म दाबीका साथ के भन्न सक्छु भने मिस नेपालमा भाग लिएपछि ४ सयको जीवनले फरक मोड लिएको छ । उहाँहरूले धेरै खालका अवसर पाउनुभएको छ । मिस नेपालको फोरम नभएको भए कुन निकायले उहाँहरूलाई यस्तो अवसर दिन्थ्यो । कुनै पनि कुराको विरोध गर्नुअघि त्यसको अर्थ र औचित्य बुझ्नुपर्छ । हो, केही विकृति छन् भने त्यसलाई हटाउन पहल गर्नुपर्छ तर औचित्यबिनाको विरोध हास्यास्पद मात्र हुन्छ ।

अनि अहिले मिस नेपाल मिस नेवामा परिवर्तन भएको चर्चा पनि चलिरहेको छ, यसमा तपाईंको टिप्पणी ?
यो हाम्रो गरिब मानसिकता हो । म नेवारकी छोरी हुँ तर मिस नेपालमा भाग लिएर प्रतिस्पर्धाबाट विजेता भएकी हुँ । हाम्रो देश भिन्न–भिन्न जातजातिले बनेको छ । हामीले सानैदेखि पढ्दै र बुझ्दै आएको कुरा हो, नेपाल सबैको साझा फूलबारी हो । यस्तै कुरामा राजनीति गरिदिएर आज हामी यो अवस्थामा पुग्यौं । मिस नेपालको इतिहास हेर्नुभयो भने लिम्बू पनि मिस नेपाल भएका छन्, क्षेत्री पनि र बाहुन पनि । हामीभित्र कुनै समस्या छैन तर यस्ता सामान्य कुरालाई इस्यू बनाएर कसलाई के फाइदा हुन्छ, मलाई थाहा छैन, यद्यपि यो राम्रो कुरा होइन । मैले पनि सामाजिक सञ्जालमा ती कुरा पढेकी थिएँ । मानिसहरू भगवान्को त आलोचना गर्छन्, म त सामान्य मान्छे ।

तपाईंले त यसअघि मोडलिङ पनि गरिसक्नुभएको थियो । नयाँ प्रतिस्पर्धीले भाग लिनु र थोरै भए पनि ग्ल्यामर दुनियाँको अनुभवी हुनुमा के अन्तर रहेछ ?
नयाँ हुँदा एकैपटक धेरै कुरा सिक्न पाइन्छ । जीवन पहिलेको रहँदैन, एक महिनामा जीवनको कायापलट हुन्छ । मलाई पनि सुरु–सुरुमा अरूले अनुभव गरेजस्तै एक्साइटिङ हुन नसकेकोमा दु:ख पनि लाग्थ्यो । जब हामी प्रतिस्पर्धामा हुन्थ्यौं, म आफू अनुभवी भएकोमा प्लस प्वाइन्ट भैरहेको छ भन्ने लागिरहन्थ्यो । दिदी र ममीले मलाई मोडलिङमा लाग्ने हौसला दिनुभयो । मेरी अर्की दिदी श्रद्धाले मोडलिङको अवसर जुटाइदिनुभयो । सम्भवत: अनुभवका कारण पनि मलाई यो उपाधि जित्न सजिलो भयो ।

तपाईं चितवनमा जन्मिएर त्यतै हुर्किएकी युवती, चितवनको के–के कुरा मिस गर्नुहुन्छ ?
साइकल चढेको, त्यहाँको खोलामा पौडी, क्रिकेट आदि खेलेको निकै सम्झन्छु । त्यहाँ लेडी क्रिकेटको टिम थियो र म क्रिकेट खेल्न च्याम्पियन थिएँ । त्यसो त म पढाइमा पनि सधैं फस्ट आउँथें । सानैदेखि टिचर हुने रहर थियो, साथीहरूलाई सिकाउँथे । बडो स्मार्ट केटो थिएँ ।

केटो ?
हो, केटो । म आठ वर्षको हुँदासम्म केटाकै पहिरनमा हिँड्थें । दिदीको जन्मपछि मेरा बुवा–आमा छोरा चाहनुहुन्थ्यो, तर छोरी जन्मिई । बुवालाई म छोरी भएको विश्वास नै भएन । त्यसैले उहाँले मप्रति सधैं छोराकै व्यवहार गर्नुभयो । केश छोटो कटाइदिनुहुन्थ्यो । केटाकै पहिरन र केटाकै स्वतन्त्रता दिनुहुन्थ्यो । घर छेउछोउबाहेक म छोरी भन्ने कसैलाई थाहा थिएन । एकपटक हाम्रो स्कुलमा विदेशबाट भोलेन्टिर शिक्षक पढाउन आउनुभयो । एसेम्बलीमा केटीको लाइनमा देखेर उहाँले मलाई केटाको लाइनमा ल्याएर राखिदिनुभयो । म फेरि खुसुक्क केटीको लाइनमै गएर बसेँ । उहाँले फेरि केटाकै लाइनमा राख्नुभयो । अति भएपछि मैले उहाँलाई म छोरी हुँ भन्नुपरेको थियो । म आठ वर्षकी हुँदा भाइ जन्मियो । त्यसपछि बल्ल मलाई बुवाले दसैंमा छोरीको पहिरन किनिदिनुभयो ।

दु:ख लाग्थ्यो ?
होइन, छोरा हुन पाएकोमा मलाई पनि रमाइलै लाग्थ्यो ।

काठमाडौं आएपछि तपाईंको पढाइ कमजोर भयो भन्ने सुनियो, किन होला ?
चितवन सानो ठाउँ, थोरै विद्यार्थी । म अलि स्मार्ट खालको केटो भएकाले मलाई कसैले जित्न सक्दैनथे । काठमाडौंमा ठूलो ठाउँ, म यहाँको भीडमै हराएँ । फस्ट हुन नसकेकोमा धेरै चिन्ता लाग्थ्यो । एकपटक त एउटा विषयमा फेल नै भएँ । त्यतिबेला म नराम्रोसँग रोएकी थिएँ ।

अब ठूली भएँ जस्तो लाग्छ ?
हो, अलि परिपक्व भएँ भन्ने लाग्छ ।

भविष्यमा के बन्ने योजना छ ?
जे गर्छु, बेस्ट गर्छु । राजनीति र अन्य क्षेत्रमा महिलाको उपस्थिति राम्रो छ तर बिजनेस सेक्टरमा महिलाहरूले लिड गरेको त्यति देखिँदैन । सम्भवत: म राम्रो इन्टरप्रेनर अथवा बिजनेस विमेनका रूपमा प्रख्याति कमाउनेतिर लाग्छु ।

तपाईं प्रेममा हुनुहुन्छ हो ?
प्रेममा को हुँदैन र ? प्रेम त रमाइलो कुरा हो नि, तर तपाईंले सोचेजस्तो कतै इङ्गेज्ड चाहिँ छैन ।

प्रेमका सम्बन्धमा तपाईंको धारणा ?
कसैको प्रेममा पर्नु राम्रो कुरा हो । यसले जीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छ, तर प्रेम गर्नुको अर्थ उसैसँग विवाह गर्ने कमिटमेन्ट हुनुपर्छ भन्ने कुरामा चाहिँ म विश्वास राख्दिन । प्रेम फरक कुरा हो, विवाह फरक कुरा हो । हो, प्रेम भएकैसँग विवाह हुनु राम्रो हो ।

तपाईंको ममी–पापाको प्रेमको किस्सा पनि रमाइलो थियो भन्ने सुनिन्छ । के थियो, भन्न मिल्छ ?
ओहो, कसरी थाहा पाउनुभयो ? धेरै रमाइलो थियो रे, उहाँहरूको प्रेम । ममी १७ वर्ष र बुवा १८ वर्षकी हुँदा उहाँहरूले विवाह गर्नुभयो । त्यही भएर हामी आमा–छोरी दिदी–बहिनीजस्ता देखिन्छौं । बुवा पनि साथीजस्तै बिहेब गर्नुहुन्छ । हामी बेला–बेलामा चितवन जान्छौं । त्यतिबेला हामी गाडीको पछाडि हुन्छौं, अनि ममी–पापाको रोमान्टिक मुड देखेर छक्क पर्छौं । उहाँहरूको विवाह भएकै २५ वर्षभन्दा बढी भयो तर हाम्रो जेनरेसनजस्तै खुलेर प्रेम देखाउनुहुन्छ । उहाँहरूको प्रेम देख्दा हामीलाई पनि ईष्र्या लाग्छ ।साप्ताहिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)