Aamsanchar

रेडक्रस दिवस, सडक सुरक्षा सप्ताह र जरिवाना

Author Image
बिहिवार, वैशाख ३०, २०७३

[एकराज गिरी]

yekr
मानवीय क्रियाकलाप नै आज मानिसको मृत्युको प्रमुख कारण बन्दै गएको छ । मानवीय असावधानी कारक बन्दैछ । यस्तै असावधानीबाट हुने सडक दुर्घटना मानिसको मृत्युको मुख्य कारण बन्दै गएको सन्दर्भमा विश्व रेडक्रस दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीले देशका १३ जिल्लामा सडक सुरक्षा अर्थात् ट्राफिक सप्ताह सञ्चालन गर्दैछ । बैशाख २६ बाट जेठ १ गतेसम्म यो अभियान सञ्चालन हुने जनाइएको छ । ‘जहाा दु:ख त्यहा रेडक्रस’ भन्ने मान्यता आत्मसात गरी मानवीय सेवामा समर्पित रेडक्रस नेपालमा अहिले दुर्घटनाका कारण हुने मानिसको मृत्युदर घटाउन चेतना जागरणमा सहकार्य गर्दै अघि बढेको छ । जनचेतनासागै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिने यस अभियानको मूल उद्देश्य देखिएको छ ।

रेडक्रस दिवस
आइतबार विश्व रेडक्रस दिवस । रेडक्रस संस्थाको स्थापना स्वीस नागरिक जोन हेनरी ड्यूनाको जन्मदिन मे ८ तारिखलाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ । सन् १८६३देखि क्रियाशील रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति जस्ता परिस्थितिमा प्रभावकारी रूपमा काम गरिरहेको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताजस्ता आधारभूत ७ सिद्धान्तमा आधारित विश्वको सबैभन्दा ठूलो मानवीय सेवामा स्वाधीनतापूर्वक समर्पित संस्था हो, रेडक्रस । जाति, धर्म, राजनीति, वर्ग, लिंग, सम्प्रदायजस्ता मानवजातिलाई विभाजन गर्ने तत्वसाग रेडक्रसको कुनै सम्बन्ध र सरोकार हुादैन । पूर्वाग्रह, पक्षपात, भेदभाव र विभेदबिना पीडित मानवको सेवा गर्नु अन्तर्राष्ट्रिय रेडक्रसको मूल उद्देश्य हो । मानवीय शक्ति र स्रोतको परिचालन गरी मानवीय पीडालाई कम गर्नु रेडक्रसको कर्म र धर्म दुवै हो । मानवीय सहायता, मानव जीवन एवम् स्वास्थ्यको रक्षा र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा रेडक्रसले संसारभर आशाजनक कामहरू गर्दै आइरहेको छ ।
विश्व रेडक्रस दिवसका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ(आईएफआरसी) र विभिन्न मुलुकमा रहेका राष्ट्रिय सोसाइटीहरूले रेडक्रसका आधारभूत मान्यताहरूलाई अगाडि बढाउादै आएका छन् । विश्वभर रेडक्रसमा २ करोड मानिसहरू स्वयम्सेवीमुलक ढंगले आवद्घ भई काम गर्दै आएका छन् । नेपालमा २०२० साल भदौ १९ गते तत्कालीन स्वास्थ्यमन्त्री डाक्टर नागेश्वरप्रसाद सिंहको संयोजकत्वमा रेडक्रस सोसाइटीको स्थापना भएको थियो । अहिले नेपालका सबै जिल्लामा रेडक्रसका शाखा र उपशाखाहरू छन् भने ११ लाखभन्दा बढी स्वयम्सेवक कार्यरत छन् ।
यस अवसरमा रेडक्रसका प्रवद्र्धक र अभियान बारे बुझ्नु सान्दर्भिक हुन्छ । रेडक्रसका प्रवद्र्धक जाा हेनरी ड्युना हुन्, उनको जन्म सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभा सहरमा भएको हो । सन् १८४९ मा बैंकमा काम शुरू गरेका ड्युनाले १८५९ जुन महिनामा व्यापारको सिलसिलामा फ्रान्सका सम्राट् नेपोलियन तृतीयलाई भेट्न जाादा बाटोमा फ्रान्स, इटली र अस्ट्रेलियाको बीचमा ठूलो युद्ध भएको थियो । इटलीको सल्फेरिनो भन्ने ठाउामा भएको भीषण युद्धमा १० हजार सेना मरिसकेका थिए भने ४० हजारभन्दा बढी सैनिकहरू घाइते भएका थिए । धेरै घाइतेहरू छटपटीमा परिरहेका थिए । दु:ख र करूणामय चित्कारका स्वरहरूले ड्युनालाई मर्माहत बनायो र घाइते सिपाहीहरूलाई भलाइ गर्ने, सेवा गर्ने र प्राथमिक उपचार गर्ने सोच बनाए । स्थानीय महिला र युवाहरूको सहयोगमा धेरै घाइतेहरूको ज्यान बचाउन उनी सफल पनि भए । आफ्नो व्यावसायिक सोचलाई बिर्सिएर स्वदेश जेनेभा फर्किए । सल्फेरिनोको दु:खद् घटनाको यथार्थ वर्णन (चित्रण) गरेर सन् १८६२ मा ‘सल्फेरिनोको स्मृति’ नामक पुस्तक प्रकाशित गरे । यस पुस्तक प्रकाशन गर्न ड्युनालाई गुस्ताफ मोनियर, जनरल जीएच ड्युफो, डा. लुई अप्पिया र डा. थियोडोर मौनारले विशेष सहयोग गरेका थिए । सन् १८६३को अक्टोबर २६–३० सम्म १६ राज्यका ३२ जना प्रतिनिधिको उपस्थितिमा घाइतेहरूको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति नामक संस्थाको स्थापना गरे । पछि सन् १८७५ मा यस संस्थालाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नाम राखियो ।
सन् १८६४मा केही देशका प्रतिनिधिहरूसमेतको उपस्थितिमा जेनेभामा सम्मेलन भई युद्धपीडित सम्बन्धी अन्तर्राष्ट्रिय जेनेभा लोकसम्मति समेत तर्जुमा गरियो । त्यसै समयमा स्वीट्जरल्यान्ड देशको राष्ट्रिय झण्डाको विपरीत रंग, अर्थात् सेतो पृष्ठभूमिमा रातो क्रस भएको रेडक्रस चिन्हको प्रारम्भ गरियो ।
जाा हेनरी ड्युनाले प्रार्दुभाव गरेको संस्था विश्वमा १९६ राष्ट्रहरूमा सक्रिय रूपमा कार्यरत छ । हेनरी ड्युना रेडक्रसको संस्थापक महासचिव थिए भने अध्यक्ष जीएच ड्युफो थिए । संस्था विश्वव्यापी हुादै मानवीय सेवामा जुट्दै थियो, ड्युना भने आर्थिक समस्यामा परेका थिए । सन् १८८७ मा स्वीट्जरल्याण्डको हेडेन भन्ने ठाउामा वम वर्कर भन्ने पत्रकारले ड्युनालाई वृद्ध अवस्थामा पत्ता लगाएपछि सन् १९९२मा हेडेनको वृद्धाश्रममा भर्नासागै रेडक्रसका संस्थापक जीवित रहेको कुरा अखबारहरूमा प्रकाशित भयो र धेरै देशले ड्युनालाई मानार्थ अध्यक्ष घोषणा गरे, मानपदवी र विभूषणहरूले सम्मानित गरे । सन् १९०१मा उनलाई शान्तिका लागि पहिलोपटक नोबेल पुरस्कार प्रदान गरियो । उनले पुरस्कारको धनराशी वृद्धाश्रमको कोषमा सेवासुविधाका लागि हस्तान्तरण गरे ।
यसरी मानवीय सेवामा निरन्तर तथा निष्पक्ष रूपमा लागिपर्ने विश्वव्यापी संस्थाका संस्थापक महामानव हेनरी ड्युनाको सन् १९१० अक्टुबर ३० तारिखका दिन जेनेभामा मृत्यु भयो । उनीद्वारा स्थापित संस्था विश्वभरी फैलिएर मानवीय सेवामा जुटिरहेको छ । तिनै महामानवको जन्मदिन ८ मईलाई विश्वभरी नै अन्तर्राष्ट्रिय रेडक्रस दिवसका रूपमा मनाइन्छ ।
नेपाल भने रेडक्रसको आवश्यकता धेरै अघिदेखि महशुस हुादै आएको थियो र विभिन्न समयमा नेपालमा रेडक्रसको स्थापना गर्ने प्रयास हुादै आएकोमा वि.सं. २०२० साल भाऽ १९ गते नेपाल रेडक्रसको निम्ति ऐतिहासिक दिन साबित भयो । २०२० भाऽ १९ गतेका दिन तत्कालीन श्री५ को सरकार स्वास्थ्य मन्त्रालयको आव्हानमा तत्कालीन स्वास्थ्यमन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्वमा बसेको सभाले तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस तदर्थ समिति गठन गरेको थियो ।
संस्थाको स्थापना नेपालको निम्ति समयको माग भएकोले नेपाल रेडक्रसको स्थापनालाई नेपालीहरूले स्वागत गर्नु स्वाभाविक थियो । नेपाल रेडक्रस तदर्थ समितिद्वारा उठाइएका कदम अनुरूप वि.सं. २०२० माघ २४ गते (७ फेब्रुअरी १९६४) मा श्री५ को सरकारले जेनेभा कन्भेन्सन (जेनेभा लोकसम्मति)मा हस्ताक्षर गरी अनुमोदन पाएपछि तदर्थ समितिले साधारणसभा बोलाई रेडक्रस केन्ऽीय कार्यसमितिको निर्वाचन हुनुभन्दा अघि प्रशस्त मात्रामा साधारण सदस्य बनाउने काम भयो ।
नेपाल रेडक्रसको स्थापनाले अन्तर्राष्ट्रिय रेडक्रसको इतिहासमा नयाा अध्याय थपेको छ भन्दा अत्युक्ति हुादैन । सबै धर्मावलम्बीहरूले रेडक्रस र यसका विश्वव्यापी सिद्धान्त आगालेका छन् । बौद्ध, हिन्दू, क्रिश्चियन, कन्फ्युसियन, जुडाइस्ट, मोहम्मद, पारसी, सिख, शिन्तोइन्ट, तालोइन्ट, इत्यादिले रेडक्रसका सिद्धान्तलाई स्वीकार गरी सदस्यता ग्रहण गरेको हामी पाउाछौ । यो विश्वव्यापी मानवीय संस्था नेपालमा पनि सक्रियताका साथ अग्रसर हुनु सम्पूर्ण रेडक्रसकर्मीको लागि खुशीको कुरा हो । नेपालको ७५ वटै जिल्लामा शाखा स्थापना भई सबैभन्दा ठूलो सञ्जालको मानवीय सेवा गर्ने संस्थाको रूपमा स्थापित छ ।
झापामा २०२५ साल चैत २६ गते रेडक्रसको स्थापना भएको हो । झापामा २६ वटा उपशाखामार्फत सबै गाउा र नगरपालिकामा रेडक्रसकर्मी मानवीय सेवामा समर्पित छन् । त्यस्तै कलेजमा २४ वटा युवा सर्कल र विद्यालयमा ७५ वटा जुनियर रेडक्रस सर्कल पनि छन् । झापामा रेडक्रसको आजीवन सदस्यता लिने रेडक्रसकर्मीको संख्या १४ हजार रहेको छ भने त्योसहित सर्कलमा आवद्ध रेडक्रस अभियान्ताको संख्या जिल्लामा ७५ हजार रहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

दुर्घटनाको बढ्दो क्षति र ट्राफिक सप्ताह
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा दुर्घटना मृत्युको दशौं र घाइते एवम् बिरामीको नवौं कारण हो । ‘जनस्वास्थ्य सिस्टम बलियो बनाउादा अरु रोगबाट हुने मृत्यु घट्दै छ, तर दुर्घटनाको बढेको छ ।’ विश्वमा हरेक वर्ष १३ लाख मानिसको मृत्यु दुर्घटनाका कारण हुने गरेको तथ्यांक छ । दैनिक तीन हजार मानिस दुर्घटनाका कारण ज्यान गुमाइरहेका छन् ।
बढ्दो सडक दुर्घटनाका कारण कूल मृत्युमा चोटजन्य रोगको भार थपिादै गएको छ । बढ्दो सडक दुर्घटना हाम्रा लागि मुख्य चुनौति भइसकेको छ । स्वास्थ्य अधिकारीहरूले सडक दुर्घटनाजन्य मृत्यु र घाइते जनस्वास्थ्य क्षेत्रमा नयाा चुनौति बन्दै गएको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार दुर्घटना नेपालमा मृत्युको चौथो कारण हो । नेपालमा वर्षेनि दुई हजार मानिसको मृत्यु दुर्घटनाका कारण हुादै आएको छ । प्रतिदिन पााच जनाले ज्यान गुमाउादै आएका छन् भने ३३ जना घाइते भइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालको कूल मृत्युमा सबैभन्दा ठूलो (४२ प्रतिशत) हात झाडापखाला, डेंगु, औलो जस्ता सरुवा रोग र कुपोषणजस्ता बहुकारणको छ । त्यसैगरी, मुटुसम्बद्ध रोगबाट २५, क्यान्सरबाट ११ र दुर्घटना एवम् चोटपटकबाट ७ प्रतिशत मानिसको मृत्यु हुन्छ ।
सडक दुर्घटनामा मर्ने ९० प्रतिशत पेटीमा हिाड्ने यात्रु, साइकलिस्ट, सार्वजनिक सवारीका यात्रु र राजमार्गका ट्रकचालक हुन्छन् । दुर्घटनाबाट हुने मृत्यु र अपांगताको अधिकांश शिकार उत्पादनशील उमेर समूहका मानिस हुने गरेको र अन्य मृत्युको कारणको तुलनामा यो अझै संवेदनशील भएको छ । तथ्यांक अनुसार कूल गार्हस्थ उत्पादन (जिडिपी) कमीमा ३ प्रतिशत हात सवारी दुर्घटनाको छ ।
अध्ययन अनुसार मृत्युको चौथो कारण सवारी दुर्घटना देखिएको सन्दर्भमा अपांगताको तेस्रो कारण पनि सवारी दुर्घटना देखिएको छ । नेपालमा सडक दुर्घटना वार्षिक करिब ६ प्रतिशतका दरले बढिरहेको पाइन्छ । सबैभन्दा ठूलो सरकारी अस्पताल वीरको इञ्जुरी सर्भिलेन्स सिष्टम नामके अध्ययनले पनि चोटपटकको २२ प्रतिशत कारण सडक दुर्घटना देखाएको छ । दुर्घटनाको सर्वाधिक जोखिममा सडक प्रयोगकर्ता, पैदलयात्रु, मोटरसाइकल र साइकलयात्रु, सार्वजनिक सवारीका यात्रु रहेको पाइएको छ । पेसागत हिसाबले सडक दुर्घटनामा पर्नेमा ३७ प्रतिशत विद्यार्थी र २० प्रतिशत कामदार हुन्छन् ।
नेपाल प्रहरीका अनुसार प्रत्येक वर्ष सडक दुर्घटनामा करिब १५ सयको ज्यान जान्छ भने ठूलो संख्यामा घाइते हुन्छन् । प्रहरीको तथ्यांकले सडक दुर्घटनामा दैनिक औसत ५ जनाको मृत्यु र ३३ घाइते हुने गरेको देखाउाछ । कूल दुर्घटनामा ४१ प्रतिशत हिस्सा मोटरसाइकलको छ । त्यसैगरी २४ प्रतिशत कार, जीप, १६ प्रतिशत बस, ९ प्रतिशत ट्रक र ट्याक्टर दुर्घटनाको हिस्सा छ । सडकको नराम्रो अवस्था, तीब्र गति, सडक प्रयोगमा हुने असावधानी, मदिरा सेवन, सडक व्यापार र छाडा पशु दुर्घटनाको प्रमुख कारण भएको बताइन्छ । वर्गीय दृष्टिले निम्न र मध्यम वर्गका मानिस दुर्घटनामा मरिरहेका छन् ।
झापामा आर्थिक ०७१/०७२मा मात्र १४४ सडक दुर्घटना भए जसमा ६७ जनाको मृत्यु भयो । ट्राफिक प्रहरी कार्यालयका अनुसार तीन बालबालिका, १२ महिला र ५१ पुरुषले उक्त दुर्घटनामा ज्यान गुमाए भने २ सय १५ जना घाइते भएका थिए ।
दुर्घटनाको यही भयावहता कम गर्न झापासहित १३ जिल्लामा बैशाख २६ देखि जेठ १ गतेसम्म नेपाल रेडक्रस सोसाइटी झापा, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले ट्राफिक सप्ताह अर्थात् सडक सुरक्षा सप्ताह शुरु गर्दैछन् । झापा, मोरङ, धनुषा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, कास्की, रूपन्देही, बााके, कैलाली, ललितपुर, भक्तपुर र काठमाडौंमा एकसाथ एकसाता यो अभियान सञ्चालन हुने जनाइएको छ । झापामा र्‍यालीसहित उद्घाटन समारोह, प्राथमिक उपचार स्वयम्सेवक परिचालन, विद्यालयमा सडक सुरक्षा कक्षा, सडक सुरक्षामा विद्यार्थीको भूमिका विषयक निबन्ध प्रतियोगिता, सडक सुरक्षाका लागि ट्राफिक स्टल, चालक र सहचालकलाई सडक सुरक्षा कक्षा सञ्चालन गरिने रेडक्रस झापाका सभापति लोकराज ढकाल बताउाछन् । त्यस्तै सडक व्यार्नर र पर्चा, पम्प्लेटिङलाई पनि प्राथमिकता दिइने बताइएको छ ।

जरिवाना
सडक दुर्घटना बढ्नुको कारण ट्राफिक नियम उल्लंघन हो । नियम उल्लंघन गर्नेलाई कडा कार्वाही नहुनु, फितलो कानुन र भएको कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा लापर्वाही बढ्दो मात्रामा छ । यद्यपि गत असोज १४ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४मा भएको यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने अधिकार संशोधन गरी सार्वजनिक गरेको छ । उक्त कानुनी प्रावधान आगामी जेठ १ गतेबाट लागू हुनेछ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीले समेत मातहतका जिल्लामा उक्त कानुनी प्रावधानको कार्यान्वयन र प्रचारका लागि सरोकारवालालाई अनुरोध पनि गरेको छ । जसअनुसार विभिन्न कसुर अनुसार जरिवानाको दर तोकिएको छ ।
क) यातायात कार्यालयमार्फत जरिवाना हुने
कसुरहरू :
– निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारी चलाएमा, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा, सवारीको स्वरूप परिवर्तन तथा मोडिफाई गरेमा र वास्तविक नम्बर प्लेट नराखी आफूखुशी नम्बर राखी सवारी चलाएमा वा चलाउन लगाएमा ।
ख) रु. एक हजार जरिवाना हुने कसुरहरू
– लाइसेन्स प्राप्त नगरी सवारी चलाएमा, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानीनोक्सानी पुर्‍याएमा वा सम्पर्कमा नआएमा, रक्सी सेवन गरी सवारी चलाएमा र लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिएमा ।
ग) रु. ५ सय जरिवाना हुने कसुरहरू
– तोकिएभन्दा बढी मालसामान राखेमा, सवारीको ओजन हद निर्धारण क्षेत्रमा बढी ओजनको सवारी चलाएमा, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा, प्रयोजन विपरीत सवारी चलाएमा, हेल्मेट नलगाएमा, सवारी आवागमनमा बाधा पुर्‍याएमा, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा र छतमा यात्रु बोकेमा वा राखेमा ।
घ) रु. १५००सम्म जरिवाना हुने कसुरहरू
– ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा, सवारी अड्याउन निषेध गरिएको ठाउा वा समयमा सवारी अड्याएमा, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउामा सवारी मोडेमा वा ध्वनि दिएमा, सडकमा गलत साइडतर्फबाट सवारी चलाएमा एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा, अवस्था ठीक नभएको सवारी चलाएमा, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, राति बत्ती नबाली सवारी चलाएमा, सवारी चलाउन निषेध गरिएको ठाउा र समयमा सवारी चलाएमा रु. १५०० जरिवाना हुने व्यवस्था छ ।
त्यस्तै नम्बर प्लेट नराखी सवारी चलाएमा, ठाउा अनुसार तोकिएको ओजनभन्दा बढी ओजनको सवारी चलाएमा, पेटी नबााधी वा हेल्मेट नलगाई सवारी चलाएमा, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सोभन्दा बढी राखी सवारी चलाएमा, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा, निर्धारण भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएमा, लापर्वाहीका साथ सवारी चलाएमा, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा र सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा पनि रु. १५००सम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।

निष्कर्ष :

  1. दुर्घटना न्यून गर्न जनचेतना अभिबृद्धिको विकल्प छैन । सागै कानुनको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ । रेडक्रस जस्ता पवित्र मानवीय संस्थासाग सहकार्य गरी अन्य सामाजिक संस्थाले पनि यस अभियानमा ट्राफिक प्रहरीलाई साथ दिएर दुर्घटनामुक्त अवस्थाको निर्माण गर्नु अहिलेको आवश्यकता बनेको छ ।

(गिरी नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सचिव हुन् ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)