Aamsanchar

के हुन लाग्यो यस्तो ? बुद्ध जयन्तीकै दिन हजारौंको बली

Author Image
शनिवार, जेठ ८, २०७३

गोलबजार (सिरहा)।

आज बुद्ध जयन्ती देशभर मनाइदै छ ।

बौद्धधर्मअनुसार बुद्धजयन्तीका दिन हिंसालाई वर्जित नै गरिएको छ । तर सिरहाको लहान नगरपालिका–१७ ढोढनास्थित राजदेवी मन्दिरमा भने आज बोका तथा पशुपक्षीको बलि चढाउने हजारौँ श्रद्धालुको भीड लागेको छ ।

लहान बजारदेखि करिब आठ किलोमिटर उत्तरमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवीको मन्दिरमा आजकै दिन बलि चढाउने गरिएको छ । बोका, कुखुरा, हाँस, परेवालगायत लाखौँ पशुपक्षीको बलिका कारण त्यहाँ रगतको खोलो नै बग्छ । तर वैशाख पूर्णिमाकै दिन बलि दिइने सो मन्दिरको बलिप्रथा आजको भने होइन करिब १२५ वर्ष अघिदेखि यहाँ यस्तै गरिन्छ ।

मन्दिरका पुजारी लक्ष्मीबहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा बलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ बलिप्रथा सुरु भयो । पहिले भाकल गर्नेले बलि मात्र चढाउने गर्दथ्यो भने अहिले केही वर्ष यतादेखि बहुमूल्य धातु पनि चढाउन थालेका छन् ।

“पहिले ढोढनावासीले मात्र बढी चढाउन सुरु गरेँ” पूजारी भट्टले भन्नुभयो, “५÷६ वर्ष यतादेखि सप्तरी, धनुषा, महोत्तरीलगायत मधेसका अधिकांश जिल्ला र भारत विहारबाट समेत श्रद्धालु बढी चढाउन यहाँ आउँछन् ।” बलि चढाउने श्रद्धालु आउने क्रम बर्सेनि बढ्दै गएको तर राज्यले यो मन्दिर क्षेत्रको विकासमा ध्यान नदिँदा विभिन्न समस्या भइरहेको उहाँ बताउनुहुन्छ ।

गत वर्षभन्दा यो वर्ष बलि बढी चढ्ने अनुमान गरिएको छ । स्थानीय पशुपति भट्ट भन्नुहुन्छ, “गत वर्ष अन्दाजी १४ हजार बोकाको बलि चढेको थियो । यो वर्ष कम्तीमा २० हजार बोका र हजारौँ परेवा तथा अन्य पशुपक्षीको बलि चढ्ने हाम्रो अनुमान छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)