Aamsanchar

भारतका जङ्गली जनावर नेपाल छिर्न थाले

Author Image
सोमवार, जेठ १०, २०७३

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ । 

cat सुरक्षित बासस्थान र आहारका लागि नेपाली भूभाग अनुकूल भएकाले भारतीय सीमा क्षेत्रबाट जङ्गली जनावरहरू नेपालतिर छिर्न थालेका छन् ।
भारतीय क्षेत्रबाट सीमा जोडिएका नेपालका संरक्षित क्षेत्र र हरित करिडोरतर्फ हात्ती, बाघ, गैँडा, चितुवा, बाह्रसिँगालगायतका महŒवपूर्ण जङ्गली जनावर प्रवेश गर्ने क्रम बढेको भारतीय अधिकारीहरूले बताएका छन् ।  भारतीय सञ्चारमाध्यमहरूले दुधुवा टाइगर रिजर्भका निर्देशक सुनिल चौधरीको भनाइ उद्धृत गर्दै भारतीय वनजङ्गलभित्र पानी, आहारको अभावले वन्यजन्तु बस्तीतिर आउन थालेका र धेरैको सङ्ख्यामा वन्यजन्तुहरू नेपाली भूमितर्फ गएको पुष्टि गरेको छ ।
निर्देशक चौधरीले भारतीय वनजङ्गलभन्दा नेपालतिरका वनजङ्गल सुरक्षा र आहारका लागि अनुकूल भएकाले धेरैको सङ्ख्यामा वन्यजन्तुहरू नेपाली भूमितिर प्रवेश गरेका र भारतीय संरक्षित क्षेत्रबाट बाहिरिने क्रम अझै जारी रहेको बताउनुभयो ।  लामो समय खडेरी परेकाले वनजङ्गलभित्रका पानीका स्रोत सुकेका र दिनप्रतिदिन चोरी सिकारका घटना वृद्धि भइरहेकाले बिनारोकटोक वन्यजन्तुहरू नेपालतिर पलायन हुँदै गएकोमा ती अधिकारीले चिन्ता व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नेपालतर्फ बाक्लो वनजङ्गल, घाँस अनि पानीको स्रोत भएकाले नै वन्यजन्तु त्यतातिर (नेपालतर्फ) गएको पुष्टि कतर्निया वाइल्डलाइफ रिजर्भका अधिकारीले समेत पुष्टि गरेका छन् ।  ती अधिकारीका अनुसार कतर्निया वाइल्ड लाइफबाट दर्जनौँको सङ्ख्यामा गैँडा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ लागेका छन् ।  तर, तिनको बसाइ धेरै लामो वा छोटो कति हुनसक्छ भन्ने कुरा बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने आहार र सुरक्षामा भर पर्छ होला ।  यद्यपि नेपालतर्फको पछिल्लो अवस्था वन्यजन्तुका लागि सुरक्षित नै पाइएको छ ।  भारतको भन्दा नेपालतर्फ चोरी सिकार घटना सुन्नमा आएका छैनन् ।
भारततर्फको दुधुवा नेसनल पार्कसँग नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्ष र लालझाडी करिडोर, कतर्निया वाइल्डलाइफ रिजर्भसँग वसन्ता करिडोर र बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतको वाल्मीकि टाइगर रिजर्भसँग नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षको सीमा जोडिएका छन् ।
विशेषगरी चितवनेदेखि पश्चिम क्षेत्रमा भारतीय सीमा जोडिएको संरक्षित क्षेत्र र राष्ट्रिय वनमा विगतभन्दा राम्रो संरक्षणको कार्य भइरहेकाले वन्यजन्तु निर्बाध रूपमा आहार विहारका लागि सुरक्षित स्थानतर्फ आएको हुनसक्ने नेपाली अधिकारीले बताएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक गोपालप्रसाद भट्टराईले भन्नुभयो, “विगतको भन्दा हाम्रो वन क्षेत्र पनि वृद्धि भएको छ ।  संरक्षित क्षेत्रभित्रको सुरक्षाको जिम्मेवारी लिएका सरकारी निकाय र आमनागरिकमा संरक्षण शिक्षाको प्रभाव राम्रो परेकाले वन्यजन्तुका लागि सुरक्षित बासस्थान बन्दै गएको विभिन्न अध्ययनले देखाएको छ । ”
उहाँले भन्नुभयो, “हामीले लगातार तीनचार वर्षयता सफल रूपमा जिरो पोचिङ ( शून्य सिकार ) वर्ष मनाइसक्यौँ ।  चोरी सिकारसँग संलग्न गिरोहका धेरैजसो अपराधी जेलमा रहेका र ती गिरोहका सञ्जाल नै टुटाउन सरकारी निकाय सफल भएकाले नेपाली भूमि वन्यजन्तुका लागि सुरक्षित भएको देखिन्छ । ”
भारतीय क्षेत्रबाट शुक्लाफाँटा, लालझाडी तथा वसन्ता करिडोर तथा बर्दिया राष्ट्रिय निकुञ्जमा ठूलो सङ्ख्यामा वन्यजन्तु नेपालतर्फ प्रवेश गरेकाले प्रारम्भिक खबरसँगै विभागका अधिकारीले वन्यजन्तुबाट नोक्सानी हुनसक्नेतर्फ सतर्क रहन पनि विभागका अधिकारीले स्थानीय बासिन्दालाई आग्रह गरेका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर