श्रीधर आचार्य
![tuien]()
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
काठमाडौँ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुङ्गे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् ।
तुइनको जोखिमपूर्ण यात्राका क्रममा कतिपयको खसेर ज्यानसमेत गएका दुःखद घटनालाई ध्यानमा राखी प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेको दिन नागरिकसँग सरोकार रहेको विषय सम्बोधन गर्ने उद्देश्यका साथ मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा गर्नुभएको थियो ।
त्यसबमोजिम कर्णाली, महाकाली र बाग्मती नदीमा गरी तीनवटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बाग्मती नदीमा बनेको पुलले ललितपुर र रामेछापका बासिन्दा लाभान्वित भएका छन् भने कर्णालीमा बनेको झोलुङ्गे पुलबाट दैलेख र अछामका बासिन्दाले राहत पाएका छन् । त्यस्तै महाकाली नदीमा बनाइएको झोलुङ्गे पुलका कारण दार्चुलाको उकुक्षेत्र र भारतलाई जोडेको छ ।
मुलुकका ३७ जिल्लामा १७१ वटा तुइन रहेमध्ये बाँकी १०१ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदै गरेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाले बताउनुभयो ।
१२० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत भइरहेको छ ।
हाल निर्माणाधीन झोलुङ्गे पुलमा सबैभन्दा बढी त्रिशूली नदीमा सातवटा, कर्णालीमा पाँचवटा, भेरीमा चारवटा, बाग्मती र सानीभेरीमा तीनतीनवटा, तिलानदीमा दुईवटा, सेती नदीमा दुईवटा, सुनकोसीमा दुईवटा छन् । त्यस्तै महाकाली, कालीगण्डकी, कास्की जिल्लामा पर्ने मर्दीखोला, अछामको गुताखोला, गुल्मीको क्वान्छिस खोला, जाजरकोटको सातियाखोला, डोटीका छोलेगाड र साइलीगाड, नवलपरासीको साँधखोला, रुकुमको धौलाघाट, तुवाइखोला र रन्माखोलामा पनि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ ।
त्यसैगरी सुर्खेतमा चैरखोला, कञ्चनपुरको जोगबूढा, गोरखाको दरौँदी नदी, खोटाङको सावाखोला, उदयपुरको तावाखोला, नुवाकोटको जिलिङ, रोल्पाको चुनवाङखोला र सल्यानमा बबई नदीमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । यी नदीमाथि झोलुङ्गे पुल बनेपछि विभिन्न जिल्लाका लाखौँ बासिन्दा लाभान्वित हुनेछन् ।
झोलुङ्गे पुल निर्माण गरी तुइन प्रतिस्थापन गर्ने कार्यमा आवश्यक चरणहरू लक्ष्यअनुरूप अगाडि बढिरहेको र त्यसका लागि आवश्यक बजेट पनि सुनिश्चित गरिसकिएकाले आगामी २०७४ को असोजसम्ममा १५५ वटा पुल निर्माण गरिसक्ने गरी काम भइरहेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जनाउनुभएको छ । यसैगरी सोही समयावधिमा निर्माण सम्पन्न गर्ने गरी अहिले १०१ वटा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको प्रधानमन्त्री कार्यालयका तर्फबाट सरकारले निर्णय गरेका भौतिक पूर्वाधार र विकास निर्माणका काम हेरिरहनुभएका वरिष्ठ आर्थिक विकास विज्ञ थपलियाले बताउनुभयो ।
उहाँका अनुसार सुर्खेतको गुटु र डाबखोला, रुकुमको ठूली भेरी, बझाङको सुनिगाडा र लक्ष्मीगाडा, बाजुराको बूढीगङ्गा, दैलेखको छायाघाट र लोहोरे खोला, अछामको जिजाडीगाड, मकवानपुरमा बाग्मती नदी, नवलपरासीमा केरुङ्गे र साधखोलामा झोलुङ्गे पुल बनाउन डीपीआर तयार निर्माणको काम अन्तिम चरणमा छ ।
त्यस्तै बागलुङमा विभिन्न आठवटा खोलामा झोलुङ्गे पुल निर्माणका लागि डीपीआर तयार भइरहेको छ । त्यहाँ मस्र्याङ्दी खोला, सिङखोला, भजिखोला, दागाखोला, बुगादोभानखोला, ठेउलेखोला, कालीगण्डकी र लौवाखोलामा झोलुङ्गे पुल निर्माण गर्न डीपीआर तयार भइरहेको जानकारी वरिष्ठ आर्थिक विकास विज्ञ थपलियाले दिनुभयो । कालीकोटमा तिला नदीमाथि चारवटा झोलुङ्गे पुल बनाइने भएको छ । त्यसका लागि पनि विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ । सुर्खेतमा भेरी र कर्णाली नदीमा सातवटा झोलुङ्गे पुल बनाइने भएको छ भने रुकुममा ठूलो भेरी, सानो भेरी र उत्तर गङ्गामा गरी चारवटा झोलुङ्गे पुल बन्नेछन् ।
डीपीआर तयार भइरहेका अन्यमा रोल्पाको लुङ्ग्रिखोला, सल्यानमा बबई, शारदा र वन्गाउ खोलामा जोडिने पुल पनि छन् । त्यस्तै डडेलधुरामा रङ्गुनखोला र सेती नदी, डोटीमा कर्णाली नदीमा एउटा र सेती नदीमा चारवटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । त्यस्तै बझाङ जिल्लामा भ्यागुतेखोला, गोलाइगाडा, इगुल्बार, कालंगा र सेती नदीमा पनि झोलुङ्गे पुल बनाउन डीपीआर तयार भइरहेको छ । बाजुरामा कर्णाली नदी र दैलेखमा छामघाट र कर्णाली नदीमा पनि झोलुङ्गे पुल बनाउने योजना छ । त्यस्तै दार्चुलामा महाकाली नदीमाथि छ स्थानमा झोलुङ्गे पुल बनाउने गरी डीपीआर तयार भइरहेको छ ।
अर्घाखाँचीको जलुकेमा राप्ती नदीमा र अर्घाको बागीखोलामा पनि झोलुङ्गे पुल निर्माण हुनेछन् । त्यसका लागि पनि डीपीआर तयार भइरहेको छ । त्यस्तै अछाममा बूढीगङ्गा र कर्णाली नदीमा, मकवानपुर जिल्लाअन्तर्गत राप्तीखोला, कुलेखानी, बाग्मती, सामरीखोला, कुलेनदीमा गरी सातवटा झोलुङ्गे पुलको डीपीआर बनाइँदैछ । नवलपरासीमा कालीगण्डकीमाथि थप छवटा झोलुङ्गे पुल बनाउन आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।
त्यस्तै जुम्लामा तिला नदीमा, जाजरकोटमा भेरी नदीमा, बैतडीमा महाकालीमा, चितवनमा त्रिशूली नदीमा तीनवटा, ललितपुरमा बाग्मती नदीमा दुईवटा, कालीकोटमा तिला नदीमा, तनहुँमा कालीगण्डकीमा र गोरखामा मस्र्याङ्दी, त्रिशूली र दरौँदीमा गरी चारवटा झोलुङ्गे पुल बनाइनेछ भने धादिङमा त्रिशूली नदीमाथि छवटा र लिदिङखोलामा एउटा गरी सातवटा झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरूप डीपीआर तयार भइरहेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विज्ञ थपलियाले बताउनुभयो । मुलुकभर १७१ स्थानमा तुइन रहे पनि तीमध्ये १६ स्थानमा झोलुङ्गे पुल राख्ने सम्भावना नभएको अध्ययनले देखाएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दुई वर्षभित्र तुइन विस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकबाट गरेपछि स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले सबै जिल्लाबाट तथ्यांक सङ्कलन गरेको र तीमध्ये कतिपय तुइन झोलुङ्गे पुल र पक्की पुल नजिकै रहेका, कुनै व्यक्तिगत प्रयोगका लागि बनाएका पाइएकाले त्यस्ता ठाउँमा झोलुङ्गे पुल बनाउन नसकिने बताइएको छ ।
सरकारको निर्णय कार्यान्वयन प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्री कार्यालयमा सम्बन्धित निकायका पदाधिकारीसहित बसेको बैठकले २०७३ साल असार मसान्तसम्म झोलुङ्गे पुलका डीपीआर तयार गर्ने र त्यसको एक वर्षमा पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक विज्ञ थपलियाले बताउनुभयो ।