Aamsanchar

श्रीमतीले आँफू काम गरेर श्रीमानलाई डिग्री पढाउँदै

Author Image
सोमवार, जेठ १७, २०७३
याम प्रधान
इटहरी –
index

सोह्र वर्षअघि सङ्खुवासभाको चेपुवाबाट कलिलै उमेरमा जडीबुटीको पन्तुरो कसेर बिक्रीका लागि धरान झरेकी गिनेन लामा त्यही वर्षदेखि सहरको रमझममा रमाउँदै धरानतिरै बस्दै आइन् ।

उनले आफ्नो जडीबुटी बेच्ने पेसालाई भने सहरिया जीवनमा झन विस्तार गर्दै लगिन् । यहाँको सार्वजनिक गीता भवनको बास छोडेर अहिले उनले धरान–१५ निराजनबस्तीमा पाँच धुर जमिन किनेर घर नै बनाइसकेकी छिन् । आफूले त साँवा अक्षर छिचोलेको बाहेक अरु औपचारिक पढाइ गर्न नपाएकी गिनेनले आफ्नो श्रीमान् निमा शेर्पालाई भने नपढी अघि बढ्न सकिँदैन भनेर धरानकै महेन्द्र बहुमुखी क्याम्पसको कानुन विषयमा स्नातकोत्तर पढाउँदै आएकी छिन् ।

औपचारिक रुपमा जडीबुटी औषधिका विषयमा अध्ययन नगरे पनि गाउँघरमा बाबुबाजेदेखि जान्दै र सुन्दै आएका आधारमा गिनेनले कुन जडीबुटीले मान्छेको शरीरको कस्तो रोग निको हुन्छ भन्ने पूरै ज्ञान प्राप्त गरेको बताइन् । उनको जडीबुटी पसलको छेउमा बसेका हातको हड्डी फुटेका धरानकै बुढा प्रकाश भुजेललाई फुटेको हड्डी निको हुने चिप्लेकिरा हडचुर र काँचो सिम्रिकलगायतका जडीबुटीको मिश्रण बनाएर दिँदै थिइन् ।

तीन छोरा पेम्बा धनेष र जम्पालाई धरानकै बुढासुब्बा बोर्डिङमा पढाउँदै आएकी गिनेन भने बिहानै जडीबुटीको पसल खोल्न भानुचोक पूर्वतर्फको देशीलाइनको सडक पेटीमा आइपुग्छिन् । गिनेनले भनिन, हिजो अस्ती अर्डर गरेका औषधि पनि तयार पारेर दिनुपर्ने भएकाले आफूलाई छोराछोरी हेर्न, भात पकाएर खुवाउन नभ्याउने भएकाले श्रीमान् निमाले नै सबै काम सघाउँदै आफू पनि कलेज पढ्ने गरेको बताइन् । गिनेनसँगै त्यही लाइनमा अरु पनि शेर्पा महिला जडीबुटीका पसल थालेर बसिरहेका छन् । गिनेनकै छेउमा जडीबुटीको पसल थापेर १४ वर्षदेखि बस्दै आएकी ३४ वर्षीया बिना चौधरीलाई पनि ती जडीबुटीबाट कसरी मानिसको स्वास्थ्यमा उपचार हुन्छ भन्ने ज्ञान छ ।

मोरङ जिल्लाको बाहुनीबाट धरान आइपुगेकी बिनाले धरानतिरै जडीबुटी बेच्दै हिँडिरहेका निमा अरवी शेर्पाको संगतमा लागेर सम्पूर्ण जडीबुटीको नाम र ती औषधिको मिश्रण बनाउने विधिसमेत सिकेर सडक पेटीमा जडीबुटी बेचेर नै धरानकै नाम चलेको विष्णु मेमोरियल स्कुलमा छोरी विनितालाई कक्षा १० मा र छोरा बरदानलाई कक्षा ७ मा बढाउँदै गरेको पनि बताइन् । बीस वर्षदेखि धरानको भानुचोक पूर्वपट्टिको देशीलाइनको सडक पेटीमा जडीबुटीको व्यापार गर्दै आएकी उनले भनिन्, ‘मेरो पसलमा बिखुमा हरचुर पाखनबेत, चानमरुवा, अशोकागन्ध, चिरैतो, धुपी सालधुप गोकुलधुप सिलाजितलगायत थुपै्र जडीबुटीका औषधि छन् ।’

दुईचार हजार रुपियाँबाट जडीबुटीको व्यापार थालेकी विनिताले अहिले चार÷पाँच लाखको जडीबुटीको व्यापार बढाएको बताइन् । उनले भनिन्, दैनिक दुई हजारजतिको जडीबुटीको औषधि बनाएर बेच्ने गरेको बताइन् । उनले पनि धरानमा नै घर जोडिसकेको बताइन् । झापाको दमक बजारमा जडीबुटीको व्यापार गर्दै आएकी कासाङ शेर्पा र उनकै फूपू छेजी शेर्पा पनि गिनेनको पसलमा जडीबुटी किन्न आउने गर्दछन् ।

उनीहरु पनि सङ्खुवासभाको चेपुवा–५ बाट धेरै अघि जडीबुटी बेच्न झरेको कासाङले बताइन् । झापाको दमकमा जडीबुटीको व्यापार गर्न जाने गरेको भए पनि कासाङ शेर्पा र फूपू छेजी शेर्पा धरान सदन रोडमा बस्दै आएको कासाङले बताइन् । उनले पनि रु ५५ हजारमा पाँच सात वर्षअघि नै सेउती किनारमा घडेरी किनेर अहिले त छाप्रो हालेर उतै बस्न थालेको बताइन् । धरानमा नै रहँदै बस्दै गर्दा धरानकै देवराज राईसँग विवाह गरेकी कासाङको छोरी रचना धरानकै विल्लीबस बोर्डिङ स्कुलमा नर्सरीमा पढ्दैछिन् ।

केही वर्षयता विस्तारै सङ्खुवासभाको चेपुवा हटियालगायतका स्थानबाट धरान हुँदै पूर्वको इटहरी, दमक, बिर्तामोड र विराटनगर गायतका क्षेत्रमा जडीबुटी बिक्री गर्दै यतै घरजम गरेर बस्ने क्रम बढ्न थालेको छ ।

शेर्पा महिलाले जडीबुटी बिक्री गरेर आफ्ना श्रीमान्, छोराछोरीको शिक्षादीक्षा धान्नुका अतिरिक्त घर खर्च, चाडपर्व आदिका लागि चाहिने सम्पत्तिको पनि राम्ररी जोहो गरिरहेको उनीहरु बताउँछन् ।

पूर्वी नेपालका सहर बजारको सडक पेटीमा जडीबुटी बेच्दै गरेका यी शेर्पा महिलाले आफ्नै मेहनतले घर घडेरी जोडेका पनि छन् । व्यापारीले जडीबुटी ल्याउँछन् त्यही किनेर आफ्नो गक्षअनुसारको जडीबुटी पसल चलाउने गरेको पनि उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर