Aamsanchar

प्रत्येक मानिसलाई वर्षमा ९१ लिटर दुध आवश्यक, नेपाली ६४ मात्र पाउदै

Author Image
मङ्गलवार, जेठ १८, २०७३

milk k

काठमाडौँ ।

पशुपक्षी विकासमन्त्री शान्ता मानवीले तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने बताउनुभएको छ ।

विश्व दूध दिवसका सन्दर्भमा आज सिफलस्थित बालमन्दिरमा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै मन्त्री मानवीले पशुपक्षीबाट प्राप्त गर्न सकिने अन्डा, मासु र दूधमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

आजदेखि बुधबारसम्म ‘नियमित दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने अभियानका साथ यहाँ बालबालिकालाई दूध सेवन गराएर विश्व दूध दिवस कार्यक्रमको आयोजना गरिएको छ । विश्व खाद्य सङ्गठनले सन् २००१ देखि अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेको थियो । नेपालले सन् २०११ देखि दिवस मनाउन थालेको हो ।

सरकारले आव ०७३÷०७४ को आम्दानी र खर्चको विवरण (बजेट) पशुपक्षी क्षेत्रबाट उत्पादन लिन सकिने विकासका लागि रु आठ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

दूध तथा दुग्ध पदार्थ उपभोगमा सबैको पहुँच पु¥याउने उद्देश्यबाट राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा दूधसँग सरोकार राख्ने पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध विकास संस्थान लगायत दूधसँग सरोकार राख्ने निकायको संयुक्त आयोजनामा विश्व दूध दिवस मनाइएको हो ।

पशुपक्षीको नश्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपक्षी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण समानान्तर रुपमा अगाडि बढाउन सरकारले सो रकम विनियोजन गरेको हो ।

पशुपक्षी मन्त्रालयले घोषण गरेको ४० बुँदे प्रतिबद्धता पत्रमा आगामी एक वर्षभित्र ‘दुग्ध विकास योजना’ तयार गरी कार्यान्वयनमा ल्याइने तथा राष्ट्रिय दूध विकास बोर्डलाई नीति निर्माण, समस्या र सम्भाव्यताको पहिचान, व्यावसायिक योजना, निर्माण र नमुना उत्पादन प्रदर्शन गर्ने समेत उल्लेख छ ।

नेपाली समाजमा प्रतिव्यक्ति प्रति वर्ष दूध ६४ लि उपभोग गरेको पाइन्छ । विश्व खाद्य सङ्गठनका अनुसार प्रति वर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुङ्गेलले पशुपक्षी पालन क्षेत्र नेपालीको परम्परागत व्यवसाय भएको बताउँदै एक माना घिउ बिक्री गरी खरखाँचोमा जीवन गुजारा गर्दै आएका नेपाली किसानले पशुपालन क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने बताउनुभयो ।

पशुपक्षीपालनका क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव ०८ प्रतिशत योगदान छ । हाल प्रतिवर्ष १७ हजार ७३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । सो उत्पादनले धान्न नसकेका कारण दूधमा परनिर्भरता छ ।
पशुपक्षीजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपक्षी पालन नीति कार्यान्वयन गरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, दान ऐन, बिमा ऐन, २०४९ को परिमार्जन, पशुकल्याण ऐन, पशुपक्षी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)