


किन्ले दोर्जे भुटियाका छोरा ४१ बर्षका भुटियालाई आइतबार पाँचथर प्रहरीले पक्राउ गरेको हो । लामा लामो समयदेखि नेपालमा बसेर ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । भुटियाले गत जेठमा १५ दिन फिदिम नगरपालिका १ को होटल सगुनमा बसेर विभिन्न चटक देखाएका थिए ।
आफू अवतारी लामा हुँ भनी फिदिमका स्थानीय बासीलाई जागिर नहुनेलाई जागिर दिलाई दिने, निसन्तानलाई सन्तान दिलाइदिने, बिरामीलाई झारफुक गरिदिने भन्दै ठगी गरेका थिए ।
फिदिम नगरका १० जनाबाट पूजा पश्चात फिर्ता हुने सर्तमा सुन चाँदीका गरगहना तथा नगद समेत राख्न लगाई लामा जेठ १७ गते होटलबाट फरार भएका थिए ।
लामा भागे लगत्तै पीडितले ठगिएको थहा पाएर प्रहरीलाई उजुरी गरेका थिए । उजुरीको आधारमा लामालाई पाँचथरबाट खटिएको प्रहरी टोलीले तनहुँको बन्दीपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले बन्दीपुर नगरपलिका १ भानु डुम्रे बजारमा सुन चाँदी पसलमा गरगहना जाकटी राख्दाराख्दै जेठ २१ गते पक्राउ गरेको हो । लामाको साथबाट सुनका गरगहना अन्दाजी १६ तोला, चाँदीका गरगहना अन्दाजी ३ तोला, नगद १ लाख ५८ हजार ३ सय पचास, ल्यापटप १ थान र क्यामेरा थान १ बरामद गरेको छ ।
लामाले यस अघि नुवाकोट र सिन्धुपाल्चोकमा समेत ठगी गरी गरेको प्रहरीले बताएको छ । ठगी मुद्दाकै कारण सिन्धुपाल्चोक कारागारमा ३ बर्ष सजाय काट्दै गरेकोमा २०७२ वैशाख १२ को भूकम्पमा कारागार भत्किदा त्यहाबाट भागी भारत तर्फ गएका थिए ।
प्रहरीले लामालाई ठगी ऐन अन्तरर्गत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।