काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।”
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३आँै राष्ट्रिय महाधिवेशन तथा २०आँै महिला उद्यमी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।
“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राख्नुभयो ।