Aamsanchar

अलबिदा अजर अम्बर

Author Image
मङ्गलवार, जेठ २५, २०७३

Ambar-Gurung

[‘नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ

शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’]

काठमाडाैं ।

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ ।

भारतको दार्जिलिङमा १९९४ फाल्गुण १५ जन्मनुभएका गुरुङ नेपाली संगीत क्षेत्रका सिद्धहस्त संगीतकार हुनुहुन्थ्यो । ‘घरको माया सम्झेर’ नेपाल आउनुभएका अम्बरले थुप्रै गीतसंगीतमा संगीत गर्नुभएको छ ।

अम्बर आफैँमा पनि गायक हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय गानका संगीतकार पनि हुनुहन्थ्यो । उहाँ नेपाली सेनाका मानार्थ महासेनानी हुनुहुन्थ्यो । विसं २०२५ सालमा काठमाडौं आएर नेपालको संगीतलाई मलजल गरिरहनुभएको ७९ वर्षे अम्बर पछिल्लो समय क्यान्सरबाट थलिनुभएको थियो ।

उहाँ पछिल्लो पटक न्युमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या र पार्किन्सन लगायतका रोगहरूसँग जुधिरहनुभएको थियो । पारिवारिक स्रोतले उहाँलाई क्यान्सर भएको, सोमवार किमोथेरापीको लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको र शुक्रवार बिहान १ बजेदेखि उहाँलाई भेन्टिलेटरमा राखिएको बताइएको थियो ।

दार्जिलिङका उजीर सिंह गुरुङका छोरा अम्बरलाई नेपाल झिकाएर राजा महेन्द्रले जुन गुन लगाउनुभयो, त्योभन्दा ठूलो गुन अम्बरले नेपाली संगीतलाई शिखरमा पु¥याएर लगाउनुभयो । सन् १९६० सालमा ‘नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’ बोलको गीत पहिलोपल्ट रेकर्ड गरेर नेपालीहरूको मन जित्नुभएका गुरुङले सन् २०६१ मा ‘म अम्बर हुँ तिमी धर्ती’ बोलको बहुचर्चित गीत रेकर्ड गर्नुभयो ।

तत्कालीन राजा महेन्द्रको दार्जिलिङ भ्रमणताक उहाँले यही गीत सुनाउनुभएको थियो । यसबाट प्रभावित भई राजा महेन्द्रले गुरुङलाई काठमाडौंमा झिकाउनुभएको थियो । काठमाडौं आएको पहिलो वर्ष नै रेडियो नेपालको संगीत प्रतियोगितामा प्रथम भएपछि अम्बरको योगदान निरन्तर रहिनैरह्यो नेपाली संगीतमा । गोपाल प्रसाद रिमालको बहुचर्चित ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा पनि अम्बरले नै संगीत भर्नुभएको हो । ‘तिमी भूलमा प¥यौ, म पनि झुक्किएँ’, ‘कैले लहर कैले तरंग’ जस्ता अजर अमर गीतहरूमा संगीत दिनुभएका गुरुङको पुख्र्यौली घर भने नेपालकै तनहुँ हो ।

बाजेका पालामा चिया टिप्न गएका दार्जिलिङ गएका गुरुङ परिवार उतै अल्मलिए तर अम्बरलाई नेपालकै मायाले आखिर यतै तानी ल्यायो । नेपाल आएर अम्बरले प्रज्ञा प्रतिष्ठानमा संगीत प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिको समेत जिम्मेवारी वहन गर्नुभएको थियो उहाँले । नेपालको संगीतको बारेमा खोज अनुसन्धानमा समेत उहाँको रुचि थियो ।

अम्बर गुरुङले आफ्नो जीवनकालमा पुस्तकहरू समेत लेख्नुभएको थियो । उहाँको ‘कहाँ गए ती दिनहरू’ भन्ने किताबले उत्तम शान्ति साहित्य पुरस्कार पनि पाएको थियो । यो बाहेक ‘सम्हालेर राख’ र ‘अक्षरका आवाजहरू’ नामक पुस्तक पनि प्रकाशित थिए ।

विभिन्न पत्रपत्रिकामा फुटकर लेखहरू पनि लेख्नुहुन्थ्यो अम्बर । पचासको दशकमा दार्जिलिङमा हुने गरेका संगीतका हरेका प्रतियोगितामा अम्बरले प्रथम स्थान हासिल गरेपछि उहाँले पछिल्लो समयमा त्यस्ता प्रतियोगितामा भाग लिनै छोड्नुभएको उहाँका समवयी बताउँछन् । गोर्खा दक्षिणबाहु, जगदम्बाश्री, हिट्स एफएम लाइफटाइम एचिभमेण्ट अवार्ड लगायतका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गर्नुभएका गुरुङ अत्यन्त सरल स्वभावका हुनुहुन्थ्यो । उहाँ पूर्वीय र पश्चिमी संगीतमा उत्तिकै दख्खल राख्नुहुन्थ्यो ।

उहाँ हार्मोनियम, पियानो र गितार जस्ता वाद्यवादनमा पनि पोख्त हुनुहुन्थ्यो । अम्बरले बिना गुरुङसँग बिहे गर्नुभएको हो । अम्बरकी उहाँका तीन छोरा किशोर, राजु र शरद तथा छोरी अल्का हुनुहुन्छ । तीनैजना छोराले संगीतमा नै आफूलाई विकास गर्नुभएको छ भने बेलायतमा बिहे गर्नुभएकी छोरी अल्का भने मानवशास्त्री हुनुहुन्छ । उहाँले आफ्नो जीवनकालमा सम्पत्ति कमाउन र घरबार जोड्नभन्दा बढी जोड संगीतमै अर्पनुभएको थियो ।

आफ्नो निजी घरसम्म नबनाई गीतसंगीतमै रमाउनुभएका गुरुङ आफ्नी छोरी अल्काको काठमाडाैं बुढानीलकण्ठस्थित घरमा बस्दै आउनुभएको थियो । अगमसिं गिरी, शंकर लामिछाने, गोपाल योञ्जन, रन्जीत गजमेर लगायतका नेपाली गीत संगीतका हस्तीहरू गुरुङका समकक्षी हुनुहुन्थ्यो ।

नारायण गोपालजस्तै गुरुङ पनि गीतहरूमा संगीत भर्दा शब्दको चयनमा धेरै ध्यान दिने गायकमा पर्नुहुन्छ । शब्दकै कारण ‘नौलाख तारा उदाए’ गीतमाथि भारत सरकारले प्रसारणमा बन्देज लगाएको थियोे । भारतकै सिको गरेर पछि रेडियो नेपालले पनि बजाउन बन्द गरेको थियो ।

यही गीत लेखेबापत अगमसिं गिरीलाई त भारत सरकारले एक हप्ता जेल समेत हालेको थियो । नेपालीहरूमाथिको थिचोमिचोलाई यो गीतले बोलेको थियो । रेडियो नेपालसँग चाहिँ अम्बरको सम्बन्ध त्यति सुमधुर भएको पाइँदैन । उसो त नारायण गोपालहरू रेडियो नेपालसँग विभिन्न कारणले गर्दा खुशी हुनुभएन । रेडियो नेपालले उहाँहरूप्रति अन्याय गरेको ठहर थियो दुवै सर्जकको ।

बच्चु कैलाश, रामेश, रायन, नारायणगोपाल जस्ता हस्तीले त रेडियो नेपाल बहिष्कार नै गर्नुभएको थियो । अम्बरले अब हाम्रो अगाडि उभिएर कहिल्यै गीत गाउनुहुने छैन, उहाँका औंलाहरूले कुनै पियानो र हार्मोनिमबाट धुन निकाल्ने छैनन् । तर अम्बरले सृजना गरेका संगीत युगयुगसम्म नेपाली जातिको सम्पत्तिको रूपमा रहिरहनेछन् । नेपालीका सन्तान दरसन्तानले गुनगुनाइरहनेछन् अम्बरको संगीतको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ।’ अलबिदा अजर अम्बर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)