Aamsanchar

धरान खानेपानी आयोजनाको अनुगमन

Author Image
बुधवार, जेठ २६, २०७३

 

इटहरी।dharan

धरान उपमहानगरवासीका लागि खानेपानी आपूर्तिका लागि सञ्चालित खानेपानी आयोजनाको सहरी विकास मन्त्रालयवाट समेत अनुगमन भएको छ ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मंगलबार आयोजनाको समग्र पक्षको स्थलगत अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनका क्रममा ठेकेदार, आयोजना अनुगमन समिति, खानेपानी व्यवस्थापन बोर्ड, आयोजना कार्यान्वयन इकाई र मातहतका निकायका व्यक्तिसँंग भेटघाट र आयोजनाबारे विस्तृत जानकारी लिनुभएको छ ।

उहाँले हालसम्म भएका कार्य प्रगति, आयोजनासम्बन्धी जनगुनासो र समस्या तथा आयोजना कार्यान्वयनमा सुधार गर्नुपर्ने विषयका सम्बन्धमा समेत जानकारी लिनुभएको छ । अनुगमनपछि भएको अन्तरक्रियामा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङ, आयोजना व्यवस्थापक राजु पोखरेल, बोर्ड सदस्यद्वय देवराज श्रेष्ठ र आनन्द श्रेष्ठले आयोजनाको विद्यमान अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।

अनुगमन समितिका संयोजक तामाङले बोर्ड विस्तार गर्नुपर्ने, सर्दू जलाधारको संरक्षणमा विशेष योजना हुनुपर्ने, आयोजनाको ब्याजदर मिनाहा हुनुपर्ने र स्रोतको दिगोपनाबारे सरकारको प्रतिबद्धतालगायत सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिसंँग भएको ११ बुंँदे सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अन्तरक्रियामा मन्त्रालयका सचिव शर्माले विषम परिस्थितिका बाबजुद पनि आयोजनाले प्रगति गर्न सकेकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले खानेपानी व्यस्थापन बोर्ड, आयोजना इकाई, ठेकेदार र अनुगमन समितिको कार्य सन्तोषजनक अवस्थामा रहेको उल्लेख गर्नुभएको छ । सचिव शर्माले अन्य सहरमा समेत धरानको मोडलअनुसार खानेपानी आयोजना अघि बढ्नुपर्ने औँल्याउनु भएको छ ।

नगर विकास कोषका अध्यक्षसमेत रहेका शर्माले एसियाली विकास बैंकबाट एक प्रतिशतमा ऋण लिएर पाँच प्रतिशत ब्याजमा ऋण दिने कोषको प्रावधान ठीक नभएको भन्दै ब्याजदरमा पुनः विचार गर्ने बताउनु भएको छ । साथै, उहाँले सर्दू जलाधार संरक्षणका लागि वन मन्त्रालयसँंग समेत सहकार्य गर्न र वातावरण विज्ञ समेतको परामर्श लिएर जलाधार संरक्षणसम्बन्धी विस्तृत योजना बनाई पेस गर्नसमेत आयोजना र उपमहानगरलाई निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर