

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् । सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए । मुलुकमा हिन्दू राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो ।
‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौं । तपाईंहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ,’ उनले थप भने, ‘राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ, नेपालको संविधान संशोधन गर्न तपाईंलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौं । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौं ।’
उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराए ।



