Aamsanchar

ढल र नाला निर्माणमा ढिलाइ ,बिराटनगरबासी आक्रोसित

Author Image
सोमवार, जेठ ३१, २०७३

dhal

पथरी (मोरङ)।

विराटनगर नगर क्षेत्रमा दुई वर्षदेखि निर्माण भइरहेको ढल र नालाको निर्माण कार्य बर्खायाम भरी स्थगित गरिने भएको छ ।

वर्षात्को पानीले निर्माण कार्यलाई प्रभावित बनाउने र नोक्सानी बढेर जाने कारण देखाउँदै स्थगित गरिन लागेको हो । नगर क्षेत्रका प्रत्येक वडामा ठूलाठूला खाल्डाखुल्डीले जनजीवन प्रभावित भइरहेका बेला निर्माण कार्य झन विलम्ब हुने भएपछि नगरवासीमा थप आक्रोश बढेर गएको छ । तोकिएको स्थानमा निर्माण कार्य पूरा गरेर अन्यत्रै कामको सुरुवात गर्नुपर्ने भए पनि ठेकेदार पक्षले नगरका सबै वडामा एकै पटक खन्ने र सडक खाल्डो पार्ने काम गरेपछि स्थानीयवासीमा आक्रोश थपिएको हो ।

मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाका प्रोजेक्ट मेनेजर उपेन्द्र बरालले वर्षात्को पानीले असर नगर्ने प्रकृतिका कामलाई मात्र अब निरन्तरता दिने बताउनुभयो । निर्माण कार्यको जिम्मा पाएको कालीका कन्टक्सनले नाला र ढल निर्माण गर्दा थुप्रिएका ढिस्काढिस्की नसम्याउँदा पैदल तथा सवारीसाधनलाई आवतजावत गर्न समस्या परिरहेको छ ।

विराटनगरको रोडशेष चोकमा गत बिहीबार एउटा स्कुल बस खाल्डोमा परेर क्रेनबाट निकालिएको थियो । नगरको मुख्य सडकको अवस्था कही ठीक छैन । कछुवाको गतिमा भइरहेको निर्माण कार्य फेरि केही महिनासम्म स्थगित हुने देखिएपछि नगरवासीलाई हिडडुल गर्न थप समस्या पर्ने देखिएको हो ।

परियोजना कार्यालयका अनुसार हालसम्म २७ किलोमिटर फोहर पानी बग्ने ढलको निर्माण कार्य मात्र पूरा भएको छ । यो अवधिसम्म आउँदा ६२ किलोमिटर ढल बिच्छयाइ त्यसमाथि कालोपत्रे गर्नुपर्ने सम्झौता थियो । हालसम्म ढलको निर्माण कार्य ५२ प्रतिशत मात्र पूरा भएको छ । यस्तै वर्षात्को पानी बग्ने नालाको काम ८५ प्रतिशत पूरा भएको छ । कुनै झन्झट आएन र काम गर्ने वातावरण सिर्जना भयो भने हामी अर्को वर्षात्भरिमा परियोजनाको सबै काम पूरा गरिसक्छौँ प्रोजेक्ट मेनेजर बरालले भन्नुभयो, तर यसमा नगरवासीको सहयोग चाहिन्छ ।
यसैबीच दोस्रो चरणमा एसियाली विकास बंैकले विराटनगरको समग्र विकासका लागि थप रु दुई अर्ब ६० करोड सहयोग गर्ने सम्झौता गरिसकेको छ । उक्त सहयोग रकमबाट उपमहानगरपालिकाले छुटेका स्थानमा नाला निर्माण गर्ने र नयाँ नाला निर्माण गरिएको स्थानमा कालोपत्रे सडक बनाउने योजना अघि सारेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर