Aamsanchar

नेता सहरमा, द्वन्द्वपीडित अस्पतालमा

Author Image
आइतवार, असार ५, २०७३

(नारद गौतम) कोहलपुर । 
hospital

सशस्त्र द्वन्द्व सकिएको १० वर्ष बितेको छ तर पीडितका पीडा अझै ताजै छन् ।  सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता ठूलो पद लिएर सहरतिर लागे भने द्वन्द्वका क्रममा गम्भीर घाइते भएका अहिले पनि पुरानो घाउको पीडा कम गर्न नजिकको अस्पताल धाइरहेका छन् ।
बाँके जिल्लाको कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा द्वन्द्वमा गम्भीर घाइते हुनुभएका सरजन विक (अमोद) आफ्नी श्रीमती माया विकको सहयोगमा ह्विल चेयरमा गुड्दै गरेको पाइयो ।  तत्कालीन विद्रोही माओवादीका लडाकु विक २०६२ सालको अन्तिमतिर बुटबलको फूलबारी ब्यारेक आक्रमणका क्रममा गम्भीर घाइते हुनुभएको थियो ।  विकको कम्मरभन्दा तलको शरीरमा चेतना छैन ।  दिसापिसाब पनि अनियन्त्रित हुन्छ ।  सोही दिन तौलीहवामा पनि आक्रमण भएको थियो ।

त्यसैगरी, अर्जुन कुँवर नेपाली सेनामा कार्यरत हुँदा द्वन्द्वका क्रममा घाइते हुनुभयो ।  उहाँको घुँडादेखि कम्मरसम्मको भागमा गम्भीर समस्या छ ।  कैलालीको सुखडमा उहाँ घाइते हुनुभएको थियो ।  यस्तै, नेपाली सेनाकै खेम गुरुङको दाहिने खुट्टा घुँडामाथिबाटै काटिएको छ ।  शशीबहादुर आलेमगर अछामको मङ्गलसेन आक्रमणमा सहभागी हुँदा बायाँ हात र दायाँ आँखा छैन ।
माओवादीका अर्का लडाकू रामकृष्ण पाण्डेको दायाँ खुट्टामा गोली लागेको थियो ।  गोली झिकियो तर नसाको समस्याले उहाँ अझै पीडित हुनुहुन्छ ।  जुम्लाको खलङ्गा आक्रमणमा उहाँलाई गोली लागेको थियो ।  पाण्डेले गोरखापत्रसँग भन्नुभयो, ‘‘सुरुमा मैले सुविधाका लागि पहल गरिनँ, जटिल समस्या भएका साथीका लागि प्रयास गरेँ, मजस्ता द्वन्द्वमा परेका तर राज्यबाट कुनै सुविधा नलिएका धेरै छौँ ।  पहिला अरूको पीडामा सहयोग गर्न लागेँ तर अहिले आफैँ समस्यामा परेँ ।  हामी त प्रयोग गरेर फ्याँकिएका छौँ, बाँकेमै कुनै सुविधा नपाएका हामीजस्तालाई कसले हेर्ने ?’’
अस्पतालमै भेटिनु भएका बाँके शमशेरगञ्जका इन्दलप्रसाद यादव द्वन्द्वपीडित सर्वसाधारण हुनुहुन्छ ।  २०६९ असार २५ मा माओवादीबाट आक्रमण हुँदा दुई जना घटनास्थलमै मरे र यादवलगायत तीन जना अहिले अपाङ्गताको पीडा बोकेर अस्पताल धाउँदै हुनुहुन्छ ।  उहाँ सहायक सामग्रीको सहयोगमा हिँडडुल गर्नुहुन्छ ।
सशस्त्र द्वन्द्वमा एक अर्काविरुद्ध लडेका नेपाली सेना वा तत्कालीन विद्रोही माओवादी लडाकू हुन् वा दुवैको मारमा परेका सर्वसाधारण जो भए पनि अहिले उहाँहरू एउटै अस्पतालमा सँगै उपचारका लागि आउने गर्नुहुन्छ ।  उहाँहरू एकले अर्कालाई सहयोग पनि गर्नुहुन्छ ।  नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका प्रशासक निरोज ढुङ्गानाले द्वन्द्वपीडितका लागि लक्षित गरेर सुरु गरिएका धेरै सेवालाई निरन्तरता दिन समस्या भएको बताउनुभयो ।  द्वन्द्व प्रभावित अपाङ्गता भएकालाई लक्षित गरेर शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्ति कोषले सञ्चालन गरेको परियोजना अहिले छैन ।  कोषले हात झिकेपछि बाँकेमा रहेका पीडितलाई झन पीडा थपिएको छ ।
द्वन्द्वमा गम्भीर घाइते भएकालाई राज्यले ‘क’ वर्गमा परेकालाई १२ हजार चार सय र ‘ख’ वर्गमा परेकालाई मासिक ६ हजार चार सय दिँदै आएको छ ।  पीडितले कर्मचारी र ज्येष्ठ नागरिकको तलब सुविधा वृद्धि भएको तर आफूहरूको सुविधामा वृद्धि नभएकोमा गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर