Aamsanchar

क्यानोनिङ खेलको नेपालमा प्रशस्त सम्भावना

Author Image
बुधवार, असार ८, २०७३

kyanoring

काठमाडौँ ।

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धनको आवश्यकता ठानिएको पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल क्यानोनिङ एसोेसिएसनले नुवाकोटको थानापतिमा हालै आयोजना गरेको दोस्रो छाँगावरोहणका सहभागी एवम दशदिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई मङ्गलबार साँझ प्रमाणपत्र वितरण गर्ने कार्यक्रमका सहभागीले प्राकृतिक दृश्यावलोकन, मनोरञ्जन र साहसिक खेलमा रुचि राख्नेलाई यसतर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।

लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ गरिँदै आएको छ । वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब ६ हजारले क्यानोनिङ गर्छन् । नुवाकोटमा आयोजित दोस्रो छाँगावरोहण महोत्सवमा करिव तीनसय नेपालीले क्यानोनिङ गरेका थिए ।

प्रमाणपत्र वितरण समारोहमा नेपाल टे«किङ एजेन्ट एसोसिएसनका (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले टे«किङ क्षेत्र र क्यानोनिङ क्षेत्र एकआपसमा अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकास र विस्तार गरे मुलुकको अर्थतन्त्र मजबुत भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष रिजालले क्यानोनिङको विकासका लागि टानले सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टानका गतिविधिबाट बचेको पैसा क्यानोनिङको विकास र विस्तारमा लगाउनेछौँ ।”

नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले क्यानोनिङ खेल नयाँ भएकाले केही अफ्ठ्यारो रहेको भन्दै अब यसलाई विस्तारै अगाडि लैजाने विश्वास व्यक्त गर्नुभयो । लामाले नेपाली युवाले क्यानोनिङमा विशेष रुचि राखेकोे भन्दै यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले क्यानोनिङ क्षेत्रलाई सरकारले बजेट कार्यक्रममा प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा क्यानोनिङ खेललाई सहयोग गर्ने र खेलमा सहभागी जनाएकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर