Aamsanchar

२५ लाख दाइजो लिएका बेहुला बेपत्ता

Author Image
बुधवार, असार ८, २०७३

behula bepatta

जनकपुर ।

२५ लाख दाइजो लिएर विवाहको कुरो छिनेपछि केटा बेपत्ता भएका छन् । यही असार १५ गते विवाह गर्ने तय भएकोमा बेहुला बेपत्ता भएपछि केटी पक्षले केटापक्षसँग एक करोडको कागज गराएका छन् ।

महोत्तरीको धिरापुर घर भई अहिले जनकपुर उपमहानगरपालिका–१० मा बस्ने लाल ठाकुरका छोरा डा. प्रशान्ता शर्मा विवाहको दिन नजिकिएपछि बेपत्ता भएको केटी पक्षले आरोप लगाएको हो । महोत्तरी  भ्रमरपुराका मोहन शर्माले केटा डाक्टर भएकै कारण २५ लाख दाइजो दिएर भन्दै आफ्नी छोरी प्रिया शर्माको विवाह तय गरेको बताउनुभयो ।

२०७२ माघ १७ गते यही असार १५ गतेको लागि विवाहको दिन तय भएको थियो । त्यसैबेला नै आफूले केटा पक्षलाई २५ लाख रुपैयाँ दिएको प्रियाका बुवा मोहनले बताउनुभयो । बेहुला पक्षलाई विवाहको किनमेलका लागि पटक पटक फोन गर्दा सम्पर्कमा नआएपछि आफू असार ३ गते बेहुलाको घर धिरापुर पुगेको उहाँले बताउनुभयो ।

बेहुलाका बुवाले छोराको अत्तोपत्तो नभएको बताएका थिए । तर बेहुला डा. प्रशान्त एमबिबिएस गरेर केही महिनादेखि जनकपुरको ब्रह्मपुरीमा रहेको जानकी मेडिकलमा कार्यरत रहेको बेहुली पक्षको भनाई छ । अहिले देशैभरी सिआइबीको टोलीले नक्कली डाक्टरलाई पक्राउ गर्न थालेपछि प्रमाण पत्र नक्कली भएको डरले बेहुला फरार भएको हुन सक्ने बेहुली पक्षको दाबी छ ।

दोस्रो पटक आफू बेहुलाको घर जाँदा कुटपिट गर्न आएको आरोप लगाएको बेहुलीका बुवा मोहनले बताउनुभयो । त्यसपछि स्थानीय बासिन्दा र प्रहरीको रोहबरमा असार ५ गते दाइजो स्वरुप बेहुला पक्षले लिएको २५ लाख रुपैयाँ फिर्ता लिन बेहुली पक्षले बेहुलाका बुवा लाल ठाकुरसँग एक करोडको कागज गराएको जनाएको छ ।

बेहुली स्थानीय एक सामुदायिक विद्यालयमा शिक्षिका छिन् । बेहुलीका बुबा मोहनले समाजमा मात्र २५ लाख रुपैयाँ दाइजो दिएको सार्वजनिक गरेको भएपनि गोप्य रुपमा ६० लाख रुपैयाँ दाइजो दिने शर्तमा विवाह तय भएको बताउनुभयो ।  बेहुला पक्षले भने यसबारेमा केही प्रतिक्रिया नआएको उज्यालोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर