Aamsanchar

काबुलबाट १२ शब सहित २४ नेपाली कामदार घर ल्याइदै

Author Image
बुधवार, असार ८, २०७३

काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने

अफगानिस्तानमा तीन हजार नेपाली

 

काठमाडौं । 

काबुलमा हत्या गरिएका नेपाली नागरिकहरुको शब लिएर जहाज उडेको छ । बिहानै शब ल्याउने तयारी भए पनि प्राविधिक र औपचारिक प्रक्रियाले ढिलाई भएको हो ।

 

जहाजमा १२ शब राखिएको छ भने २४ जना नेपाली कामदार पनि स्वदेश फर्केका छन् । घर फर्कन चाहनेलाई सरकारले जहाजमा ल्याउने भन्दै सूचना जारी गरेको थियो ।
शब बोकेको जहाज बुधवार दिउसो ३ बजेसम्म काठमाडौं आइपुग्ने वताइएको छ । शब बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री कमल थापा एयरपोर्ट जाँदै हुनुहुन्छ ।

 

काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने

सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली एयरपोर्ट जानुहुने भएको छ । काबुलमा हत्या भएका नेपालीको शब ल्याउन यसअघि सरकारले नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको काबुल पुर्याइसकेको छ ।

 

आक्रमणमा परी निधन भएका नेपालीको शब बुझ्न प्रधानमन्त्री ओली आफैं उपस्थित हुन लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले वताउनु भयो । ‘दुखद घटनामा ज्यान गुमाएका नेपाली नागरिकको शब परिवारले बुझ्ने बेला प्रधानमन्त्री जानुहुने भएको छ’ दाहालले भन्नुभयो ।
आजै विहान साढे तीन बजे काबुलका लागि उडेको जहाज विहान ६ बजे काबुल पुगेको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले बताउनुभयो ।
शव लिएर जहाज अहिले साढे ११ बजे काठमाडौं आइपुग्ने तालिका रहेको छ। जहाज काठमाडौं आइपुगेपछि प्रधानमन्त्री ओली सहित उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा एयरपोर्ट जाने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले नेपाल वायुसेवा निगमको विमान चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीको टोली काबुल पुगेको हो ।
विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक–एक प्रतिनिधि रहने मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । जहाजले नेपाल फर्कन चाहने नेपालीलाई पनि नेपाल ल्याउनेछ ।
अफगानिस्तानसम्म नेपालको सीधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र अफगानिस्तानसंग अनुमति लिनुपर्ने हुन्छ । उनीहरुसँग हिजो नै अनुमति लिएर विमान पठाइएको पौडेलले जानकारी दिनुभयो ।
अफगानिस्तान गएको वायुसेवाको विमानमा पाइलट क्याप्टेनद्धय सुवास रिजाल र श्रवण रिजाल रहेको निगमका अर्का पाइलट क्याप्टेन विजय लामाले जानकारी दिनु भएको छ ।
विमानमा पहिलो प्राथमिकतामा मृतक र घाइते हुनेछन् । उनीहरु बाहेक पनि जहाजको क्षमताअनुसार अन्य नेपाली फर्किन चाहेमा त्यसको व्यबस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा तीन हजार नेपाली

 

अफगानिस्तानमा हाल वैधानिक तीन हजार ३२३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षा गार्डका रुपमा श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्था मार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताउनुभयो ।

ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उहाँले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिनुभयो । अवैधानिक रुपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः गएको हुन सक्ने र त्यो सङ्ख्या बढेको देखिने बताउँदै उहाँले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिनुभयो ।

विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन । त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर