Aamsanchar

म्यानपावर व्यवसायीबाट कुटपिट

Author Image
बुधवार, असार ८, २०७३

kutpit

काठमाडौँ ।

न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आज आफ्नो चालक प्रयोग गरेर विभागमै पिटेका छन् ।

पीडित कृष्ण कुँवरले उपाध्यक्ष क्षेत्रीको फ्युचर स्टार म्यानपावरबाट साउदी अरब जानका लागि दिएको राहदानी फिर्ता नपाएको भन्दै विभागमा उजुरी दिनुभएको थियो ।

सोही विषयमा विभागका निर्देशक रमा भट्टराईले दुवै पक्षलाई आज बोलाएपछि छलफलका लागि पुगेका कुँवरलाई भनाभनपछि क्षेत्रीको निर्देशनमा चालकले कुटपिट गरेका हुन् । आक्रमणबाट घाइते भएका कुँवरको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । कुँवरले न्याय माग्ने ठाउँमै आफूमाथि आक्रमण हुनुलाई गुण्डाराजको सङ्ज्ञा दिनुभयो ।

कुटपिटपछि प्रहरीले उपाध्यक्ष क्षेत्रीलाई पक्राउ गरी बानेश्वरस्थित महानगरीय प्रहरीवृत्त लगेको छ । कुँवरले साउदी जान प्रक्रिया सुरु गर्दा रु ७० हजार क्षेत्रीको म्यानपावरलाई दिएकामा साउदीको प्रवेशाज्ञा आएपछि थप रु ५० हजार माग गरेपछि रकम दिन अस्वीकार गर्नुभएको थियो ।

सरकारले घोषणा गरेको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था विपरीत रु ७० हजार दिँदादिँदै थप रकम मागेपछि उहाँले साउदी जान अस्वीकार गर्दै आफ्नो राहदानी फिर्ताका लागि विभागमा उजुरी दिनुभएको थियो । उजुरी दिएपछि यसअघि पनि क्षेत्रीले कुँवरलाई कुटपिट गरेपछि महानगरीय प्रहरीवृत्त बालाजुमा उजुरी दिएपछि त्यहाँ कुँवरलाई प्रक्रिया सुरु गर्दा दिएको रु ५० हजार भराएर कुरा मिलाइएको थियो ।

राहदानी लिन बाँकी रहेकाले त्यसको पहलका लागि विभागमा उजुरी परेपछि विभागले क्षेत्रीको कारोबार रोक्का गरेको थियो । पक्राउका सम्बन्धमा जानकारी माग्दा वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरीयालाई सम्पर्क गर्दा घटनाबारे अनभिज्ञता प्रकट गर्दै महानगरीय परिसर काठामाडौँमा सोध्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर