Aamsanchar

नेपालको अलैचीमा अन्तर्राष्ट्रिय चासो

Author Image
बिहिवार, असार ९, २०७३

alaichi f

विर्तामोड।
अन्तर्राष्ट्रिय क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूले नेपाली अलैंचीप्रति निकै चासो देखाउन थालेका छन् ।
उनीहरूले सुकुमेललाई मात्र अलैंची मान्दै आएका पश्चिमा मुलुकका व्यावसायिक क्षेत्रका मानिसले नेपालको अलैंची देखेपछि र यसको स्वाद लिएपछि यो अलैंचीले तेस्रो बजार सहजै लिनसक्ने बताएका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा नेपाल अलैंची व्यवसायी महासंघको संयोजनमा अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्ता, सरोकारवाला सरकारी निकायहरूबीच बिर्तामोडमा आयोजित दुई दिवसीय कार्यशालामा उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार कमिटी (आईटीसी) मा आबद्ध नेदरल्याण्डका व्यवसायी विलियम भानले नेपालको अलैंची राम्रो रहेको र यसलाई अन्तर्राष्ट्रिय बजारमा सहजै पुऱ्याउन सकिने बताए ।
यसैगरी आइटीसीका व्यापार सल्लाहकार ओलिभर मार्टेले नेपाली अलैंचीको भविष्य राम्रो भएको बताउादै नेपाली अलैंचीलाई प्रशोधित गरी मसलाका रूपमा विश्व बजारमा पुऱ्याउन सक्दा उचित प्रतिफल प्राप्त हुने बताए ।
विलियमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय अलैंची उपलब्ध गराउने हो भने आफैं पनि अलैंची लिन तयार रहेको बताए । उनले अलैंचीलाई प्रशोधन गरी अलग–अलग परिकारका वस्तु निर्यात गर्न पनि सुझाव दिए ।
नेपाली व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंची निर्यात गर्दा आइपर्नसक्ने कठिनाइहरू बारे उनीहरूलाई जानकारी गराएका थिए । उनीहरूले रणनीति बनेर कार्यान्वयनमा आएपछि त्यसले सहजीकरण गर्ने उल्लेख गरे ।
वाणिज्य मन्त्रालयले अलैंची क्षेत्रको सर्वांगीण पक्षको जानकारी दिने, अलैंची उत्पादन, ढुवानी तथा निर्यातमा देखिएका समस्या अवगत गराउने, समाधानका उपाय खोज्ने र अन्तर्राष्ट्रिय निर्यात रणनीत तयार गर्ने उद्देश्यले अलैंचीको अन्तर्राष्ट्रिय व्यापारमा अनुभवसिद्ध भान र मार्टेलाई बोलाएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत राजेन्द्रमान सिंहले जानकारी दिए ।
कार्याशालामा नेपाली अलैंची उत्पादकहरूले गुणस्तरीय अलैंची उत्पादनमा देखिएका समस्या बताएका थिए । आन्तरिक व्यवसायी र निर्यातकर्ताले व्यापारका समस्या अवगत गराउनुका साथै समाधानका उपायहरू पनि सुझाएका थिए ।
नेपाली उत्पादक तथा व्यवसायीले उठाएका सवालहरूको उचित जवाफ पाउने गरी आईटीसीले दुई महिनाभित्र कार्ययोजना तयार गरी वाणिज्य मन्त्रालयलाई बुझाउने र त्यस सम्बन्धी किसान तथा व्यवसायी तहमा पुन: छलफल गरी रणनीति तयार गरिने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक विमल नेपालले जानकारी दिए ।
कार्यशालामा कृषि मन्त्रालयका उपसचिव अर्थविज्ञ डा. प्रद्युम्न पाण्डे, सल्लाहकार मुरारीप्रसाद उपाध्यायले पनि सहजीकरण गरेका थिए । किसान र व्यवसायीले उठाएका सवाल लिपिबद्ध गरी त्यसलाई सम्बोधन हुनसक्ने गरी रणनीति तयार भयो भने यो कार्यशालाको सार्थकता रहने नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
हाल नेपालको अलैंची भारतमा मात्र निर्यात हुने गरेको छ । विलियम भानका अनुसार मुस्लिमबहुल इण्डोनेशिया र दुबई नयाा बजार बन्नसक्ने बताए ।
नेपाल सरकारको निर्यातजन्य कृषिवस्तुमा अलैंची पहिलोमै परेकोले सरकारले अलैंचीको विकास र संरक्षणका हरेक पक्षमा लगानी गर्ने व्यापार तथा निकासी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर