Aamsanchar

यस्ता व्यक्तिलाई डाक्टर बनाऊ

Author Image
शुक्रवार, असार १०, २०७३

डा. अर्जुन कार्की

पूर्व उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

 

 

विकसित मुलुकको चिकित्सा शिक्षामा अयोग्य मानिसलाई पास गराउनु भनेको आफ्नै अयोग्यता हो । कुनै उपाधि लिएबापत विद्यार्थीसँग ज्ञान, सीप, विश्लेषण क्षमता हुनैपर्छ । अनुशासन र मर्यादाकै कारण उनीहरुको गुणस्तर अब्बल छ । तर, हाम्रोमा स्वार्थका लागि चलखेल गर्ने परिपाटी झाँगिँदै गयो ।
नाफामुखी चरित्रका कारण स्वास्थ्यजस्तो संवेदनशील विधाको गुणस्तरमा ह्रास ल्याउने जोखिमत छँदैछ । व्यक्तिगत स्वार्थका लागि संस्थागत रुपमा राज्यसंयन्त्रको दुरुपयोग हुन्छ भने त्यो भन्दा बढी बेइमानी केही हुन सक्दैन । यस्तो प्रवृत्तिले समाजलाई अराजक बनाउन मद्दत गर्छ । जे गरे पनि हुने रहेछ भन्ने मानसिकता बढ्छ ।
उदाहरणका लागि, कुनै बिरामीलाई ‘एपेन्डिसाइड’ भएर अपरेसन थिएटरमा लगियो । ऊ बेहोस छ, आफन्तभित्र जान पाउँदैन । कुनै डाक्टरले मिर्गाैला  झिकेर बेचिदिए के गर्ने ? अरुले देखेका छैनन् भनेर जे पनि गर्न हुन्छ भन्ने मानसिकता विकास भए समाजमा को सुरक्षित हुन्छ ? जिम्मेवारी लिएपछि इमान्दारीका साथ पूरा गर्नुपर्छ भन्ने संस्कार आत्मसात गर्न सकिएन भने आखिरमा हामी र हाम्रो समाजलाई नै धोका हुन्छ ।
मेडिकल क्षेत्रका विकृति हटाउन चाहने हो भने विद्यार्थी भर्नादेखि नै प्रक्रिया सुधार गर्नुपर्छ । १२ कक्षा पास गर्नेहरु १७ वर्षको हाराहारीमा हुन्छन् । त्यति कलिलो उमेरमा चिकित्सा शिक्षाका विषयवस्तु कत्तिको ग्रहण होला ? उनीहरुको ग्रहण गर्नसक्ने क्षमतामा नजरअन्दाज गरिएको होइन । तर, मानवीय मूल्य र मान्यताका संवेदना कत्तिको ग्रहण गर्न सक्छ, त्यसबारे पनि हेर्नुपर्छ ।
मानिसको जीवन विज्ञानको कुरा मात्रै होइन । यसमा कलाको पक्ष पनि त्यत्तिकै गम्भीरतापूर्वक जोडिएको हुन्छ । मानिसलाई बचाउन र जीवन प्रक्रिया अघि बढाउन कुन अंगले कसरी काम गर्छ ? मानिस किन बिरामी हुन्छन् ? कसरी त्यो थाहा पाउने ? यसबारे हेर्ने अनेक दृष्टिकोण छन् । जैविकबाहेकका आध्यात्मिक पक्ष पनि होलान् । व्यक्तिले आफ्नो उपचारमा चयन गर्न पाउने पद्धतिको विकल्प पनि रहला । यो संवेदनशील पक्ष पनि एउटा चिकित्सकले बुझ्नु जरुरी छ ।
अर्कोतर्फ, मानवीय पक्ष र संवेदना बुझाउन सक्ने नसक्ने किशोरलाई मेडिकल शिक्षा दिन पठाइन्छ । बाबुआमाले टन्न पैसा भरेको छ । जीवनको धरातल उसले बुझेकै छैन । भोलि उसले बिरामीलाई कस्तो सेवा देला ? कस्तो व्यक्तिलाई मेडिकल शिक्षाका लागि अनुमति दिने ? हामीले  गम्भीर रुपमा सोच्नैपर्छ । चिकित्सा पेसा संवेदनशील हो भने संवेदनशील मानिसलाई नै यो पेसामा ल्याउनुप¥यो । संवेदनशील मानिसलाई पेसामा नल्याएपछि भोलि डाक्टरले कुरा बुझेन, राम्रो उपचार गरेन भनेर मात्रै पुग्दैन । समस्याको जडसम्म पुग्न सक्नुपर्छ ।
सिकाइको पक्ष हेरौँ, विद्यार्थीले सिक्ने क्रममा उसलाई एक्लैले सिकेको जस्तो लाग्न सक्छ । तर, बिरामी त सयौँ मेडिकल विद्यार्थीको सामना गर्दा–गर्दा वाक्क भइसकेको हुन्छ । मलाई पढाउने प्राध्यापकको पनि प्राध्यापकले विद्यार्थी डाक्टरको कोलाहलबाट दिक्क भएर बसेको बिरामीको हात मुसार्थे रे ।
‘मेरो विद्यार्थीले हजुरलाई निकै दुःख दियो होला । त्यसका लागि म दुःखी छु,’ भनेर सहानुभूति दिन्थे रे । उनले बिरामीको पीडा र भावना बुझ्थे ।  यस्तो संवेदना बुझ्न नसक्दा नै बिरामी र आफन्तको आक्रोशको तारो चिकित्सकहरु हुने गर्छन् । विद्यार्थीले बिरामीबाट सिक्छ । सिक्ने क्रममा बिरामीमाथि ठूलो यातना हुन्छ । बिरामीमाथि थप पीडा र यातनाबाट मात्रै सिकारु चिकित्सकले केही ज्ञान लिने हो ।
सामाजिक उत्तरदायित्व महत्वपूर्ण पाटो हो । कुनै व्यक्तिलाई चिकित्सक बनाउन समाजले ठूलो योगदान गरेको हुन्छ । सरकारी स्वास्थ्य निकायमा राज्यको कोष, बिरामीको शुल्कलगायतबाट चिकित्सक उत्पादन हुन्छन् । जनताको तिरोले डाक्टर बन्छन् । बिरामीको पीडा र दर्दमा थप सास्ती दिएर नै विद्यार्थीले आफ्नो प्राज्ञिक ज्ञान आर्जन गर्छ ।
एउटा बिरामी ‘एपेन्डिसाइटिस’ भएर आएको छ । वरपरबाट १० जना विद्यार्थी चिकित्सकले पढ्ने क्रममा बिरामीलाई छाम्दा, बुझ्दा अझै पीडा र सास्ती हुन्छ । यो यातनाको मूल्य हुदैन ? यो जान्दाजान्दै पनि हामी बिरामीबाटै किन सिकाउँछौ भने भावी पुस्ताले सिक्ने सीप र ज्ञानले कैयौँको ज्यान बचाउँछ । नेपालमा मात्रै होइन, विश्वव्यापी पद्धति नै यही हो ।
हाम्रो शैक्षिक प्रणालीले ‘बिरामीलाई यातना दिएर ज्ञान सिक, सिपालु बन र तिनैलाई बेवास्ता गरेर आफ्नो सपना पूरा गर’ भन्ने प्रवृत्ति विकास गरेको छ । सिपालु हुने क्रममा ‘जो मरे पनि मरोस्, दुःख भए पनि होस्’ भन्ने प्रवृत्ति विकास भयो । जुन बिरामीले सिपालु हुन सिकायो, त्यसप्रति हामीले जिम्मेवारी लिनुनपर्ने ? यस्ता सामाजिक दायित्वप्रति त्यति संवेदनशील हुन सकेका छैनौँ ।
सम्पन्न परिवारका विद्यार्थीले ५० लाख तिरेर पढ्यो । तर, त्यो रकम कलेज सञ्चालकको पोल्टामा गयो । बिरामी भर्ना भएका छन्, उपचारबापत थप शुल्क तिरेका छन् । ऐयामाथि ऐया थपेर बिरामीले विद्यार्थीलाई सिक्ने अवसर दिएकोमा बिरामीप्रति अनुग्रहित हुनुपर्ने होइन र ?
माथेमा प्रतिवेदनमा स्पष्ट भनिएको छ, ‘तिमीलाई सेवा गर्ने मन छ भने यो पेसामा आऊ, पैसा कमाउन मात्रै हो भने नआऊ ।’ क्षमता र मिहिनेतअनुसार पैसा त कमाउलान् । तर, पैसालाई मात्रै प्राथमिकता दिएर चिकित्सा पेसामा हाम फाल्नु उचित होइन । नाफामूलक संस्थाले यो सबै विचार गर्दैन । मात्रै उसलाई ‘गाँठ’को चिन्ता हुन्छ । सेवाभाव छाडेर विशुद्ध नाफामात्रै सोचेर सञ्चालन हुने स्वास्थ्य निकायलाई छाडा छाड्ने हो भने हिजो, आज र भोलि हाम्रो समायमा देखिएको विकृति अझै बढेर जाने खतरा रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर