Aamsanchar

अस्पतालको लापर्वाहीका कारण गर्भवती महिलाको मृत्यु

Author Image
आइतवार, असार १२, २०७३

इटहरी ।

कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकको लापर्वाहीका कारण इटहरी उपमहानगरपालिकाकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

इटहरी उपमहानगरपालिका–८ स्थित गैसारकी २७ वर्षीया सविता महतको शुक्रबार दिउँसो १ बजेसम्म स्वास्थ्यस्थिति ठीक भएको चिकित्सकले बताए पनि एकाएक उनीहरुले नै शिशुको चाँहि आमाको पेटभित्रै मृत्यु भएको जानकारी दिएर सविताको उपचारमा गम्भीर लापर्वाही गरेको आफन्तले आरोप लगाएका छन् ।

आफन्तले जसरी भए पनि आमाको ज्यान जोगाउन अपिल गर्दा आमालाई केही नहुने भन्दै चिकित्सकले आश्वासन दिँदै आएको र आफूले डाक्टर र नर्सलाई पटक पटक अवस्थाको बारेमा जिज्ञासा राख्दासमेत अप्रेशन नगरी सामान्यरुपमै मृतक शिशु निकाल्न सकिने बताउँदै आएका थिए ।

शुक्रबार राति शिशु निकाल्ने प्रयास भइरहेका बेला अकस्मात नर्सले यहाँ उपचार सम्भव नभएकाले अर्कै कुनै राम्रो अस्पताल लानु भन्दै डिस्चार्ज पत्र थमाएपछि आफन्तमा खैलाबैला भएको र चिकित्सकले गरेको चरम लापर्वाहीका कारणले सविताले समेत ज्यान गुमाउनुपरेको उनीहरुले बताएका छन् ।

सविताको स्वास्थ्यस्थिति ठीक भएको भन्दै उपचार गर्दै आएको कोसी अञ्चल अस्पतालले राति सविताको ज्यान गइसकेपछि अन्यत्र रिफरको अभिनय गरेको र अस्पतालले सवितालाई अन्यत्र रिफर गरेको पत्र शुक्रबार राति दिए पनि त्यसमा लेखिएको मिति भने शनिबार असार ११ गते उल्लेख छ ।

शनिबार मृतकको संस्कार गर्न इटहरीस्थित बुढिगङ्गामुना मुक्तिघाटमा लगिए पनि शिशुसमेत मृतकको पेटमानै छ भन्ने सूचना पाएपछि इटहरी प्रहरीको एक टोली घाट पुगी दाहसंस्कार रोक्न भनेको थयो । तर प्रहरीले शिशुको ज्यान आमाको पेटभित्रै गइसकेको जानकारी पाएपछि रोकिएको संस्कार सम्पन्न भएको थियो ।

विराटनगरस्थित अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोख्रेलले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याउने क्रममै महिलाको मृत्यु भइसकेको अनौठो जवाफ दिनुभयो । शुक्रबार दिउँसै अस्पताल लगिएकी सवितालाई राति रिफर गरिएको र मिति आजको राखिनुले पनि अस्पतालको लापर्वाहीको आशंका गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर