Aamsanchar

‘बजार अनुगमनलाई देशव्यापी बनाइने’

Author Image
सोमवार, असार २७, २०७३

झापा ।

banijya-photo-.

सरकारले खाद्यान्न, औषधि तथा खानेपानीमा शुरु गरेको बजार अनुगमनलाई देशव्यापी र दिगो बनाइने बताएको छ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने प्रकृतिका अखाद्य पदार्थ समेत विक्री वितरण भइरहेको पाइएकोले त्यसको दिगो नियन्त्रण गर्न देशव्यापी विशेष अभियान शुरु गर्न लागिएको आपूर्तिमन्त्री गणेशमान पुनले बताए।

कालोबजारी, अनियन्त्रित बजार र मिसावटलाई नियन्त्रण गर्न भन्दै सरकारले गत सातादेखि अनुगमन तीव्र पारेको हो। तर आगामी दिनमा यसलाई नियमित बनाउन लागिएको मन्त्री पुनले बताए।

अभियान

उनले भने, “दीर्घकालीन हलका निम्ति नीतिगत हिसाबले भएका समस्याहरु जे छन् त्यसलाई सम्बोधन गर्न कानुन संशोधन गर्छौँ।

नयाँ आर्थिक वर्ष अब केही दिनमा शुरु हुँदैछ। त्यसपछि हामी उपभोक्ता हित संरक्षण, नागरिक, सरकारका साथै अरु सरोकारवाला सबैलाई जोडेर राष्ट्रव्यापी ठूलो अभियान चलाउँछौँ र तत्कालै हामीले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको बजार अनुगमन समिति लगायतका संस्थालाई परिचालन गर्छौँ।”

अनुगमन थालेको शुरुकै दिन टोलीले कतिपय स्थानमा अवैधानिक रुपमा प्रयोग भइरहेका ढक तराजु जफत गर्न खोज्दा व्यापारीले अवरोध गर्दै ढुंगामुढा गरेका थिए।

त्यसबाहेक शनिबार मात्रै औषधि पसलको अनुगमनका क्रममा व्यापारीले विरोध जनाएका थिए। तर अवरोध आएपनि अनुगमन जारी रहने मन्त्री पुनले बताए।

समाधान

सरकारले थालेको अनुगमनको अभियान उदाहरणीय भएपनि समस्याको जरासम्म नपुगी समाधान नहुने धारणा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले बताए।

उनले भने, “नियन्त्रणका लागि खुद्रा विक्रेता अथवा पसलमा गएरमात्र यसको समाधान निस्किएला जस्तो मलाइ लाग्दैन। खाद्यवस्तुको हकमा थोक विक्रेताहरुमा जानुपर्यो, आयातकर्ताहरुमा जानुपर्यो, औषधिका हकमा पनि औषधि व्यवस्था विभाग सक्रिय गराउनुपरयो र हुनुपरयो। र जति निकाय पनि छन् नि उनीहरुले अभियानका रुपमा लिएर गएर खास दोषीलाई हदैसम्मको कारवाही गराउनसक्यो भने अहिलेको अनुगमन चालेको कदम जुन छ त्यो प्रभावकारी होला।”

अनुगमनका क्रममा टोलीले अखाद्य मासु, मिसावट भएका खानेपानी, मिठाई बेचिने गरेको पाइएको तथा कतिपय औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाई नगरिएको र म्याद गुज्रेका औषधि विक्री वितरण गरेको पाइएको बिबिसिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर