

भैरहवा – लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रूपन्देहीका सीमावर्ती क्षेत्रका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमातहत सञ्चालनमा रहेका इलाका प्रहरी कार्यालय मझगावाँ तथा बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोइनिहवा प्रहरीचौकीको अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा उनले सीमावर्ती क्षेत्रमा हुनसक्ने चोरीपैठारी, मानव तस्करी, लागुऔषध ओसारपसार, फरार अपराधीको आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा उच्च सतर्कता अपनाउन निर्देशन दिए ।

खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नियमित गस्ती, चेकजाँच र सूचनाको आदानप्रदानलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।



