Aamsanchar

स्वतन्त्र पत्रकारिता, बाङ्गो पत्रकारिता र नाङ्गो पत्रकारिता

Author Image
आइतवार, साउन २, २०७३

Bishnu Kharel
[विष्णुप्रसाद खरेल]

पत्रकारितामा एउटा सिद्धान्त छ – स्पाइरल अफ् साइलेन्स । यस सिद्धान्त अनुसार पत्रकारहरु समाचार लेखनमा वरिपरिको वातावरण हेर्छन र बहुमतमा रहेको समाचारमात्र प्रकासन गर्दछन र अल्पमतका विचारहरुका वारेमा मौन बस्दछन । जसले गर्दा अल्पमतका आवाजहरु विस्तारै हराएर जान्छन । यो एक प्रकारले पत्रकारहरुले समाचारमा लगाएको सेल्फ सेन्सरसीप हो । हो अहिले पत्रकारितामा यो रोग ब्याप्त बनेको छ । समाचारले समाजलाई गति दिने मात्र होइन समाजमा रहेका विसंगतिको सुधारमा पनि महत्वपुर्ण सघाउ पुर्‍याउछ । तसर्थ समाचारको प्रकाशनमा बुहुमत, अल्पमत र सतहमा आउदै नआएका विषयहरुलाई समेत स्वतन्त्रतापुर्वका प्रकाशन र प्रशारण गर्नु स्वतन्त्र पत्रकारको धर्म हो ।

अहिले पत्रकारको छवी आम नागरिकका वीचमा त्यति सकारात्मक बनेको देखिदैन । यसो हुनुमा पत्रकारहरु आफै दोषी देखिन थालेका छन् । यस कुराको सुधारमा पत्रकारहरुकै भुमिका रहन्छ । मैले अनुभव गरिरहेको छु, आजकाल पत्रकारलाई मानिसहरु पैसामुखी भएको आरोप लगाउन थालेका छन् । एउटा विद्यालयका प्रध्यानध्यापकले भनेको कुराले मलाई घोचिरहेको हुन्छ । वहााले एक दिन मलाई भन्नुभयो – होइन विष्णुजी पत्रकारहरुले पैसा मागेर हैरान पारे के गर्ने ? पैसा दिउा कुन शिर्षकवाट दिने, नदिउा उल्टोपाल्टो समाचार छापेर हैरान पारेका छन् । यो कस्तो चाला हो ? म यी भनाईहरु सम्झि रहन्छु । आजकल मानिसहरु पत्रकारको उपस्थितिलाई डर, त्रास र भयका रुपमा हेर्न थालेका छन् । पत्रकार र नागरिकवीचमा आत्मिय सम्बन्ध सेलाउन थालेको छ । यो एउटा नराम्रो विसंगतीको आरम्भ हुदैछ ।

अहिले देखिएको पत्रकारितामा तीनवटा प्रबृति हावी देखिन थालेका छन् – स्वतन्त्र पत्रकारिता, बाङ्गो पत्रकारिता र नाङ्गो पत्रकारिता । स्वतन्त्र पत्रकारिता आफैमा पत्रकारको मर्यादालाई उच्च बनाउने प्रबृत्ति हो । आम नागरिकहरु स्वतन्त्र पत्रकारिताको पक्षमा रहेका हुन्छन । स्वतन्त्र पत्रकारिता आफैमा जोखिममा हुन्छ । किनकी यसले कसैको पक्ष वा विपक्षमा रहेर कार्य गर्दैन । समाजमा रहेका र भएका विषयहरुलाई निर्भयकासाथ सम्प्रेशण गर्दछ । समाजका विसंगतिलाई उजागर गरेर त्यसप्रति सचेत रहन उत्प्रेरित गर्दछ । स्वतन्त्र पत्रकारिताले तिख्खर आलोचना गर्न धक मान्दैन । यो आफ्नो पेशा, मर्यादा, आचरणप्रति सचेत रहन्छ । यसले कसैको गुलामी गर्नु पर्दैन । यो कसैप्रति रिस, राग र पुर्वाग्रह राख्दैन । त्यसैले स्वतन्त्र पत्रकारिता एक्लो हुने गर्दछ । यसले समाजका फटाहाहरुको मात्र होइन बाङ्गो पत्रकारिता र नाङ्गो पत्रकारिता गर्ने आफ्नै साथिहरुको पनि आक्रमणको शिकार बनिरहेको हुन्छ ।

पत्रकारितामा अको प्रबृति छ – बाङ्गो पत्रकारिता । यो पत्रकारले आफैले गर्ने सेल्फ सेन्सरसीप पनि हो । बाङ्गो पत्रकारिताले समाचारलाई आफ्नो हित अनुकुल सम्प्रेशण गर्दछ । आफ्नो स्वार्थलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नु यसको धर्म हो । यस्ता विषयहरु राजनीतिक, आर्थिक, सामाजिक र साास्कृतिक वा पत्रकारका नीजि आचरण र ब्यवहारहरुवाट प्रभावित हुने गर्दछन । यी विषयहरुलाई केन्द्रमा राखेर समाचार प्रशारण गर्दा समाचारको वास्तविक स्वरुप नै नष्ट भैसकेको हुन्छ । अहिले पत्रकारितामा देखिएको प्रभावमा आर्थिक चलखेल महत्वपुर्ण बन्न थालेको अनुमान आम नागरिकहरुले गर्न थालेका छन् र राजनीतिक चलखेललाई दोश्रो विषयका रुपमा हेरिरहेका छन् । अचम्मचैं के छ भने एउटा पत्रकारले अर्को पत्रकारसंग गर्ने ब्यवहार र ऊ संगको सम्बन्धमा राजनीति अत्यन्त हावी हुन थालेको छ । राजनीतिमा सोचवाट मुक्त भएर वास्तवमै पत्रकारहरुवाट भए गरेका गल्ती र कमजोरीलाई नियाल्ने विवेक समेत देखिदैन । जसले गर्दा समाचारको स्वतन्त्रता र पत्रकारको मर्यादाका वारेमा पत्रकारहरुवाटै चुनौती थपिएको छ । पत्रकारितामा देखिएको बाङ्गो पत्रकारिता प्रबृतिले यस पेशालाई नै धुमिल बनाउन थालेको छ ।

पत्रकारितामा अर्को भयानक खतराका रुपमा प्रवेश गरेको प्रवृति भनेको नाङ्गो पत्रकारिता हो । अहिले देखिएको नाङ्गो पत्रकारिता प्रबृतिले आम नागरिकलाई त सताएको छ नै यसले पत्रकारलाई समेत छाडेको छैन् । स्वतन्त्ररुपमा काम गरिरहेका पत्रकारहरु, मर्यादित र सम्मानित पत्रकारहरु र आम नागरिकको विश्वास जितेका र समाजका विभिन्न तह र तप्काले पुरस्किृत गरेका पत्रकारहरुमाथि यस प्रबृतिका पत्रकारहरुवाट निरन्तर भ्रामक समाचार सम्प्रेसण गर्नु र मित्रवत ब्यवहारको अभावका कारण स्वतन्त्र पत्रकारितामा रहेका पत्रकारहरु पीडित बन्नु पर्ने अवस्था श्रृजना हुन थालेको छ । नाङ्गो पत्रकारिताले समाचारलाई कि त अधिकरुपमा अतिरंञ्ति गर्दछ या त समाचारको स्वरुपनै समाप्त पारिदिन्छ । समाचार लेखनमा आर्थिक चलखेल यसको दैनिकी बनेको हुन्छ । यस प्रबृतिले, कसैको अधिक प्रशंसा गरेवापत लाभको खोजी गर्दछ वा कसैको सामाजिक छवी नै विगारेर अर्को पक्षवाट आर्थिक लाभ लिने कोशिस गर्दछ । आफ्नो चरित्र अनुरुप यस प्रबृतिले अरु पत्रकारहरुलाई गलत देख्दछ ।

हिजो मात्र मैले अनलाईन समाचारमा पत्रकारितामा सेल्फ सेन्सरसीपको एउटा ठुलै घटनाको समाचार पढें । यो घटनामा पत्रकार महासंघका केन्द्रिय अध्यक्षनै सम्पादक रहेको इमेज टेलिभिजन मुछिएको छ । डा. गोबिन्द केसीले अख्तियारका वारेमा दिएको अन्तरवार्ता प्रशारणमा रोक लगाउन परेको दवाबका कारण उक्त अन्तरवार्ता प्रशारण भएनछ । उक्त अन्तरवार्तामाथि सेल्फ सेन्ससीप लगाइयो । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष नै सम्पादक रहेको संचार गृहको त यस्तो अवस्था छ भने अरु प्रकासन र प्रशारण गृहहरुको अवस्था कस्तो होला ? सेल्फ सेन्सरसीपका यस्ता समाचारहरुले प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाउने अधिकारकर्मीहरुको भावनालाई कति कुण्ठित पार्दछ होला ।

पत्रकारहरुका विभिन्न संगठनहरु रहेका छन् । यो सबैलाई थाहा भएकै विषय हो र यो पनि थाहा छ पत्रकारहरुका यी संगठनहरु कुनै न कुनै रुपमा राजनीतिक दलहरुसंग सम्बन्धित छन् । यो स्वभाविक पनि हो । यति हुदाहुदै पनि पेशागत हिसाबले यि संगठनहरुवीचमा मित्रवत सम्बन्ध हुनु पर्दछ । तर यी संगठनहरुमा मित्रवत् ब्यवहारको अनिकाल लागेको देखिन थालेको छ । कुनै पनि विषयमा शहिष्णु ढंगले सोच्ने, विवादको समाधान गर्ने र कमजोरीहरुमा सुधार ल्याउने संस्कृतिको अभाव देखिन थालेको छ । आफ्नो संगठनमा रहेका पत्रकारहरुले गरेका कमी कमजोरीलाई कहिल्यै नदेख्ने बरु ती गल्तीहरुलाई सत्यमा रुपान्तरण गर्न टुप्पी देखिको बल लगाउन तयार रहेका घटनाहरु छापाहरुमा आइरहेका छन् । एउटा पत्रकारले अर्को पत्रकारलाई दोषी देखाउन संस्था नै सक्रिय रहने प्रबृतिले पत्रकारको छवीलाई कस्तो बनाउाछ भन्ने चिन्ताको अभाव देखिन थालेको छ । अहिले मानिसहरु पत्रकारको योग्यता, क्षमता, पेशाप्रतिको इमान्दारिताका वारेमा प्रश्न उठाउन थालेका छन् । पत्रकार हुन चाहिने मापदण्डका वारेमा नागरिकहरु सुसुचित हुन खोजिरहेका छन् । पत्रकार र पत्रकारिताका वारेमा नागरिक तहवाट यति धेरै प्रश्न उठिरहेका छन् कि अब पत्रकारितामा लागेकाहरुले जवाफ दिनै पर्दछ ।

पत्रकार रघु मैनालीसमेत सरिक भएर लेखेको “मेरो पत्रकारिताको खबर” भन्ने पुस्तकमा लेखिएको छ – पत्रकारहरु निर्भयसाथ कार्य गर्न र आफ्नो जीवन तथा पेसामा समेत सुरक्षित महसुस गर्न नसक्नु नेपाली पत्रकारिताका बारेमा बारम्बार सुनिने हालखबर हुन । यस्तो अवस्थाले पत्रकारहरु पत्रकारिता पेसामा रहेर निर्वाह गर्नु पर्ने न्युनतम दायित्व पुरा गर्नबाट समेत विमुख बन्नु नेपाली पत्रकारिताको अर्को प्रमुख खबर हो । नेपाली पत्रकारिता सेल्फ सेन्सरसीप जस्तो मन्द विषवाट विस्तारै मृत्युतर्फ धकेलिइरहेको छ भन्ने अर्को अत्यासलाग्दो खबर हो ।’ रघु मैनाली र विनोद भट्टराईले लेखेकोजस्तै पत्रकारिता पेसामा लागेर न्युनतम दायित्व पुरा गर्न समेत नसकिरहेका पत्रकारहरु, पेसागत सुरक्षावाट विमुख पत्रकारहरु र समाचारलाई सेन्सर गरेर आफु अनुकुल प्रकासन गर्ने पत्रकारहरुका कारण स्वतन्त्र पत्रकारिता जोखिममा पर्दैछ र बाङ्गो पत्रकारिता र नाङ्गो पत्रकारिता हावी हुदैछ । यसले कसैको पनि भलो हुदैन, चेतनाभया !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर